नमोबुद्ध नगरपालिकाद्धारा इँटाभट्टा सञ्चालनमा रोक

नमोबुद्ध नगरपालिकाद्धारा इँटाभट्टा सञ्चालनमा रोक

मंसिर १, काभ्रेपलाञ्चोक

नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो । कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ । 

 

स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमीन भाडामा दिँदै आएका थिए । नगरप्रमुख टङ्कप्रसाद शर्माले इँटा उद्योगको गत आर्थिक वर्षको कर मात्र लिएको र चालु आर्थिक वर्षको दर्ता÷नवीकरण रोकिएको बताउनुभयो । नमोबुद्ध नगरपालिकाका ३१ सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन कार्यालयमा निवेदन दिएका थिए ।

 

जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्धको भकुण्डेमा आठ इँटा उद्योग छन् । गत वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन, अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्ड विपरीत भएको निष्कर्ष निकालेको थियो । टोलीले इँटा उद्योगबाट निस्कने धुँवा–धुलोका कारण मानव, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो ।

 

यस्तै पाँचखाल नगरपालिकाले समेत इँटा व्यवसायीलाई मापदण्डअनुरुप सञ्चालन गरिएको वातावरणमैत्री प्रमाण पेश गर्न आह्वान गरेको छ । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष जीतेन्द्र खयमलीले उद्योगलाई वातावरणमैत्री बनाउनेबारे छलफल भइरहेको बताउनुभयो ।

 

औद्योगिक क्षेत्र सञ्चालन ऐन २०५९ अनुसार इँटा उद्योग मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा सञ्चालन गर्न पाइने प्रावधान छ । उद्योग मन्त्रालयको कार्य्विधि २०७२ अनुसार बस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ । जिल्लाको पाँचखाल नगरपालिकामा सात, नमोबुद्धको भकुण्डेमा आठ, पनौतीको शङ्खुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई र धुलिखेलमा एउटा इँटा उद्योग रहेको छ ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *