काभ्रे,
आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारल आज सार्वजनिक विदा समेत दिएको छ । गत दुई वर्ष कोरोना महामारीका कारण खासै चहलपहल नभएको बजारमा आज भने बिहानैदेखि चहलपहल देखिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा ,सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकि छिन । उनले आज शुभकामना सन्देश जारी गर्दै विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकि छिन । त्यसैगरि, प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न सबैलाई आग्रह गरेका छन ।