काभ्रे,
प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ भन्ने नाराका साथ आज खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम गर्न लागिएको छ । कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत अधिकारीहरूको सहभागिता रहने जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या रहेको छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ ।
यसैबिच,
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व पानी दिवसका अवसरमा शुभकामना दिएका छन । विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारी ले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनका लागि काम गर्न आग्रह गरेकि छिन । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सवैको जिम्मेवारी भएको बताएका छन ।