काभ्रे,
काठमाडौंमा आजबाट ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन भएको छ । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रदर्शनी तीन दिनसम्म चल्ने भएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले देशमा तत्काल भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने यसले देशलाई कठिन अवस्थामा पुर्याउने बताएका छन । भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याए मुलुकलाई नै सिध्याइदिने प्रस्ट पारेका छन । आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको बताउदै उनले भ्रष्टाचार विरुद्धको अभियानमा सधैं साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने बताएका छन । राष्ट्रियतासँग जोडिएको अंग भ्रष्टाचार बढदै गएको बताउदै हामीहरुले खबरदारी गरेनौं भने हाम्रो प्यारो मातृभूमिलाईनै सखाप बनाउने बताएका छन । भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्दै सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुने गरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरेका छन ।