काभ्रे ,भकुण्डेबेसी। काभ्रेको तेमाल गाउँपालिका ६ ठूलो पर्सेलमा यही फागुन १८ गते स्वाथ्य शिविर सञ्चालन हुने भएको छ ।
करिब ५ सय स्थानीयबासीको स्वास्थ्य जाँच, उपचार तथा निशुल्क औषधि वितरण गर्न शिविर सञ्चालन गर्न लागिएको वडा नम्बर ६ का अध्यक्ष बिकुलाल तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार धुलिखेल अस्पतालसँगको समन्वयमा शिविर सञ्चालन गर्ने निर्णय भएको हो । फागुन १८ गते बिहान ११ देखि साँझ ५ बजेसम्म ठुलो पर्सेलको स्वास्थ्य चौकीमा शिविर चल्नेछ ।
शिविरबाट तेमाल गाउँपालिकाका वडा नम्बर १,२् ३, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाले सेवा लिन पाउने छन् ।
स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, ३० वर्षमाथिका महिलाको पाठेघरको मुखको क्यानसरको परीक्षण, मधुमेहको परिक्षण,हाडजोर्नी सम्बन्धी सेवा, फिजियो थेरापी, निशुल्क औषधि वितरण तथा परामर्श सेवा दिइने धुलीखेल अस्पतालका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिनेश थापाले जानकारी दिए।
पाठेघरको मुखको क्यानसरका बिरामी फेला परेमा सहुलियतमा उपचारका लागि अस्पतालले सहयोग गर्नेछ ।
तीन महिनाअघि वडा नम्बर ६ का अध्यक्ष तामाङ र धुलिखेल अस्पतालका सामुदायिक तथा जनस्वास्थ्य निर्देशक डा विराज कर्माचार्यले चाँडै स्वास्थ्य शिविर चलाउने प्रतिबद्धता सामुदायिक सूचना नेटवर्क (सीआईएन) सँग गरेका थिए ।
रेडियो रोशीले पनि ठूलो पर्सेलका नागरिकको स्वास्थ्य समस्याका बारेमा विभिन्न सामग्री तयार पारी प्रसारण गरेको थियो ।
कोभिड १९ को महामारीका कारण शिविर समयमै चलाउन नसकिएको वडाअध्यक्ष तामाङले बताएका छन् ।