काभ्रे,
काभ्रेको तेमाल गाँउपालिका वडा नम्बर ६ मा सञ्चालन भएको एक दिने स्वास्थ्य शिविरमा ३ सयभन्दा धेरै स्थानीयबासीले स्वास्थ्य जाँच गराएका छन् । बुधबार भएको शिविरमा ३ सय १ जनाले शिविरबाट सेवा लिएका छन् । स्वास्थ्य जाँचका साथै निशुल्क औषधि वितरण गरिएपछि सेवाग्राही खुसी भएका छन् । काभ्रेको धुलिखेल अस्पतालको प्राविधिक सहयोग र तेमाल गाँउपालिकाको आर्थिक सहयोगमा तेमाल गाउँपालिका वडा नम्बर ६ ले शिविरको आयोजना भएको हो । शिविरमा धुलिखेल अस्पतालका विशेषज्ञ चिकित्सकसहित १० जनाको टोली खटिएका थिए । ठूलो पर्सेल स्वास्थ्य चौकीमा भएको शिविरमा तेमाल गाउँपालिका ६, ७, ८, ९ लगायत विभिन्न स्थानबाट सेवाग्राही जचाउन आएको वडा नम्बर ६ का अध्यक्ष बिकुलाल तामाङले जानकारी दिएका छन । बाँकी समयमा पनि यस क्षेत्रका नागरिकको सुविधाका लागि काम गर्न तयार रहेको बताउदै स्वास्थ्य चौकीका लागि एम्बुलेन्स ल्याउनका लागि सरोकारवाला निकायमा कुरा राखेको अध्यक्ष तामाङले बताएका छन ।
चिकित्सकहरूका अनुसार शिविरमा आएका अधिकांशमा हाडजोर्नी सम्बन्धी समस्या देखिएको छ र औषधि वितरण गर्नुका साथै थप समस्या भएमा जाँचका लागि आउन आग्रह गरिएको छ । पाठेघरको क्यान्सरको जाँच गरिएका मध्ये १ जनालाई थप जाँचका लागि अस्पतालमा आउन भनिएको स्त्री रोग विशेषज्ञ डा सुमनराज ताम्राकारले जानकारी दिएका छन । शिविरको औपचारिक उद्घाटन कार्यक्रममा तेमाल गाँउपालिकाका अध्यक्ष सलामसिंह तामाङले शिविर सञ्चालनमा रेडियो रोशी र सीआईएनको जानकारी गराउने, जिम्मेवार बनाउने भूमिका महत्वपूणर् भएको भन्दै प्रशंसा गरेका छन ।
धुलिखेल अस्पतालका स्त्री रोग विभाग प्रमुख ताम्रकारले गाँउगाँउमा आएर सेवाग्राहीलाई सेवा दिने अवसर पाएकोमा आफू लगायत सबै टिमलाई खुसी लागेको धारणा राखेका छन । आगामी दिनमा पनि स्थानीय सरकारसँग र सरोकारवाला निकायको समन्वयमा जिल्लाको अरु स्थानमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको उनको भनाइ छ ।
स्त्री रोग, हाडजोर्नीको समस्या लगायतको परीक्षण र औषधि वितरणले यहाँका महिलाहरूलाई धुलिखेल वा काठमाडौँ जानुपर्ने बाध्यता टरेको शिविरमा सहभागी तेमाल ८ का एक महिलाको भनाइ छ । ६ वर्षदेखि स्त्री रोगसम्बन्धी समस्याबाट आफू पीडित भएको र यो समस्याको बारेमा परिवारका सदस्यलाई समेत भन्न नसकेको तर जाँच पछि आत्मविश्वास बनेको उनले बताएकि छिन ।
समापन समारोहमा गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक दुर्गामाया तामाङले आफूहरूको दायित्व नै नागरिकलाई सेवासुविधा पु¥याउनु भएको उल्लेख गर्दै आगामी दिनमा महिलाको स्वास्थ्य सुधारका लागि पनि काम गर्न तयार रहेको बताउनुभयो । वडाध्यक्ष तामाङले स्वास्थ्य, शिक्षा लगायतका विषयमा सकभर राम्रो काम गर्ने आफ्नो उद्देश्य पूरा गर्नका लागि स्वास्थ्य शिविर थप माध्यम बनेको विचार व्यक्त गर्नुभयो । शिविर समापन कार्यक्रममा शिविर सञ्चालनका लागि समन्वय गरेको भन्दै रेडियो रोशीका शोभा हुमागाईँ, सीआईएनका लिलप्रकाश चन्द, धुलिखेल अस्पताल र तेमाल गाउँपालिकाको स्वास्थ्य शाखालाई प्रशंसा–पत्र प्रदान गरिएको छ । तीन महिनाअघि रेडियो रोशीको समन्यमा सीआईएनले ठूलो पर्सेलमा स्वास्थ्य समस्या रहेको बारेमा रिपोर्टिङ गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालनका लागि स्थानीय सरकार अनि धुलिखेल अस्पतालसँग समन्वय सुरु गरेको थियो ।