काभ्रे,
यही बैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनको तयारी काभ्रेमा अन्तिम चरणमा पुगेको छ । मतदान पूर्वका सबै जसो काम सकिएको छ । मौसमलाई ख्याल गर्दै मतपत्र र मतपेटिकाको सुरक्षा प्रवन्ध मिलाईएको छ । पालिका स्तरमै मतगणना हुनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा सीसी क्यामेरा जडान र घेरावारा लगायतको काम धमाधम गरिरहेको प्रजिअ पाण्डेले बताएकि छिन् । कालीजंग गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानको टोली परिचालित छ । पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र अन्तिम घेरामा नेपाली सेना रहनेछ ।
जिल्लाको जुनसुकै मतदान केन्द्र बढीमा आधा घण्टाभित्र पुग्नेगरी नेपाली सेना तैनाथ छ । दुईवटा पालिकाको सुरक्षा हेर्ने गरी एक जना डिएसपीको कमाण्डमा नेपाल प्रहरी खटिएको छ । प्रत्येक गाउँपालिकामा इन्स्पेक्टरको कमाण्डमा प्रहरी परिचालन छ । अति आवश्यक सेवा अन्तर्गतका स्वास्थ्य सेवा एम्बुलेन्स, दमक जस्ता सवारी साधन र विद्यूत आपूर्तिलाई हाईअलटमा राखिएको छ । जिल्लामा ३८१ मतदान अधिकृत, ३८१ सहायक मतदान अधिकृत, ७६१ जना सहायक कर्मचारी र ३८१ सहयोगी कर्मचारी गरी १९ सय ४ जना कर्मचारी खटिएका छन ।