काभ्रे,
काभ्रे जिल्ला स्थित काठमाडौँ विश्वविद्यालयका १७ सय १२ जना विद्यार्थी दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी १७ सय १२ जना विद्यार्थी दीक्षित हुने बताईएको छ ।
दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् ।कार्यक्रममा पाँच जनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३३६ उत्तीर्ण हुनेछन् ।