काभ्रे,
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको आयोजना तथा मण्डनदेउपुर नगर कार्यसमितिको व्यवस्थापनमा आज कुन्ताबेसीमा “घर–घर जाउँ, काँग्रेस जिताँऊ” अभियान अन्तरर्गत अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले हिजो पार्टीको केन्द्रीय समितिले गरेका निर्णय प्रष्ट पारेका छन् । स्थानीय चुनाव नजिकिँदै गर्दा चुनावी गठबन्धनका विषयमा पार्टीले गठबन्धन नै गर्ने नभई आवश्यक परे चुनावी तालमेल मात्र गर्न सकिने निर्णय गरेको बताएकाा छन । एम सी सी को विषयमा प्रष्ट हुन आग्रह गर्दै पार्टीका अगुवा कार्यकर्तालाई यो देशको अहितमा नरहेको स्पष्ट पारेका छन । व्याख्यात्मक टिप्पणी प्रति प्रष्ट पार्दै यसले त्यसमा भएका गुणहरूको व्याख्या गरेको बताएका छन ।
महामन्त्री शर्माले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने र अरु पार्टीले जस्तै ध्वाँस दिँदै हिड्ने काम नगरी देश विकासमा लाग्ने बताएका छन । वामपन्थी गठबन्धनको सरकारले ५० वर्ष कांग्रेस आउँदैन भनि ध्वाँस दिँदै हिँडेको तर पाँच वर्षको कार्यकाल पनि पूरा नगर्दै टुटफुट ले चकनाचुर भएको कुरा स्मरण गराउदै बाध्यात्मक परिस्थितिमा मात्रै अहिले सरकारको नेतृत्व गर्नुपरेको बतएका छन । देशको समग्र विकासको लागि आगामी चुनावमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै जिल्ला सभापति तीर्थ लामाले आफू पार्टीको जीतका लागि दैनिक १६ घण्टा दिन तत्पर रहेको बताउँदै आफ्ना कार्यकर्ताहरुलाई संयमित भई पार्टीको नीति तथा विधान भित्र रहेर कार्य गर्न निर्देशन दिएका थिए । कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नको संख्या उलेख्य थियो । कार्यक्रममा नवप्रवेशी हरुलाई रुखको शितल छहारीमा स्वागत गर्दै टीका तथा खादा लगाएर सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम प्रतिनिधिसभा क्षेत्रिय सभापति महेश खरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।