काभ्रे,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधिअनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिएका छन । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय भएको थियो । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने बताईएको छ । क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका व्यक्ति, मेरुदण्ड पक्षाघात भएका रातो र नीलो अपाङ्गता परिचय पत्र भएकाले पनि उक्त रकम पाउने भएका छन ।
कार्यविधिअनुसार भत्ताका लागि औषधि उपचार गर्न नसक्ने गरिबीको परिचयपत्र वितरण गरेको जिल्लाको हकमा सो परिचयपत्रवालालाई स्थानीय तहले सिफारिस गर्नुपर्नेछ । यस्तै गरिबीको परिचयपत्र वितरण गरी नसकेको जिल्लाको हकमा विपन्न व्यक्ति वा स्थानीय तहबाट सिफारिस समिति गठन गरी पहिचान भएका विपन्न रहेको प्रमाणपत्र प्राप्त व्यक्तिले पनि भत्ता पाउनेछन् ।