काभ्रे,
यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि लाइसेन्सका लागि नयाँ आवेदन खोल्ने तयारी गरेको छ । विभागले अनलाइन फारम बन्द गर्नुअघि फारम भरेकाहरुको प्रयोगात्मक परीक्षा सकेपछि मात्रै नयाँ लाइसेन्सको लागि आवेदन माग्ने तयारी गरेको हो । बैशाख महिनाभित्र सबैको ट्रायल लिएर जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी गरिएको विभागले जनाएको छ ।
पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ रहेको छ । नयाँ लाइसेन्सका लागि झण्डै ६ लाखले आवेदन दिएकोमा यो सङ्ख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्ने भएको छ । गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको छ ।