काभ्रे,भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा राष्ट्रिय नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) स्थापनाका लागि आज बहुपक्षीय समझदारी भएको छ । राष्ट्रिय युवा परिषद्, नमोबुद्ध नगरपालिका, काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच आज (बुधबार) एक कार्यक्रमबीच सझदारीपत्रमा हस्ताक्षर भएको हो । नवीनतम सोच लिएका युवालाई आवश्यक परामर्शका साथ प्राविधिक तथा व्यावसायिक तालिमका माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान र सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्र स्थापना हुन लागेको हो । सोही क्रममा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र तथा इन्क्युबेसन सेन्टर सञ्चालन तथा नमुना विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्न बहुपक्षीय समझदारीमा हस्ताक्षर गरी कार्यान्वयन प्रक्रिया सुरु गरिएको हो । समझदारी पत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिना, काठमाडौं विश्वविद्यालयका निर्देशक प्रा.डा दिपकप्रसाद सुवेदी र आइडिया स्टुडियो नेपालका बोर्ड अफ डिरेक्टर सुरेश सिम्खडाले हस्ताक्षर गरेका छन् ।समझदारीपत्रमा हस्ताक्षरसँगै अब नवप्रवर्तन केन्द्र स्थापनाको काम तीब्ररुपमा अघि बढ्ने भएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं. ८ मा रहेको आरुबारीचौरमा केन्द्र स्थापना हुन लागेको छ ।
देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाहरुले आफ्ना नियमित कार्यक्रममा नवप्रवर्तन तथा इन्क्युबेशनलाई समावेश गर्दै लैजाने, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुले नवप्रवर्तन तथा इन्क्युबेशनलाई आफ्ना क्रियाकलापमा आत्मसात गर्दै लैजाने, देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाहरुले नवप्रवर्तनमा अनुसन्धानलाई समेट्दै लैजाने विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई तोकिएबमोजिम प्रतिष्पर्धाका आधारमा नवप्रवर्तन अनुदान उपलब्ध गराउदै लैजाने लगायतका लक्ष्य केन्द्रबाट राखिएको छ ।
केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिकाले अघिल्लो बर्ष नै नगरपालिकाको वडा नं. ८ मा रहेको आरुबारीचौरमा रहेको जग्गा उपलव्ध गराउने निर्णय गरिसकेको छ । हाललाई पाँच बर्षका लागि चारवटा पक्षबीच समझदारी गरिएको र आवश्यकताअनुसार अवधि थप गर्ने सहमति भएको छ । समझदारीअनुसार नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषदले निर्वाह गर्नेछ । यस्तै नमोबुद्ध नगरपालिकाले जग्गा भोगाधिकार र अभ्यास साझेदारको रुपमा भूमिका निर्वाह गर्नेछ भने काठमाडौं विश्वविद्यालयले ज्ञान साझेदार र आइडिया स्टुडियो नेपालले प्राविधिक साझेदारको रुपमा भूमिका निर्वाह गर्नेछन् ।
नेपाल सरकारले युवा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन गराउने कार्यक्रमका रूपमा ‘युवा नवप्रवर्तन केन्द्र’को स्थापनालाई पन्ध्रौँ योजना (आ.व. २०७६।७७–२०८०।८१) को आधार पत्रमा उल्लेख गर्दै आ.व. २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिसकेको छ । नवप्रवर्तनात्मक सोच भएका युवाको राष्ट्रव्यापी रूपमा खोजी गर्दै उनीहरूमा भएको प्रतिभा प्रस्फुटनको अवसर जुटाई प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ । त्यही नीतिअनुसार नमोबुद्धमा राष्ट्रियस्तरको नवप्रवर्तन केन्द्र स्थापना हुनु खुशी र गौरवको विषय भएको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताए । केन्द्र स्थापना र सञ्चालनका लागि नमोबुद्ध नगरपालिकाले सक्दो साथ र सहयोग गर्ने र समझदारीअनुसार तत्कालै काम सुरु हुने नगर प्रमुख शर्माको भनाई रहेको छ ।