काभ्रे, देबराज उप्रेती,
काभ्रेको नमोबुद्ध नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईसँग पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । आज ( बुधबार) नमोबुद्ध नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण तथा निबर्तमान जनप्रतिनिहरुलाई सम्मानका साथ बिदाई गरिएको छ । नमोबुद्ध नगरपालिकाको प्रमुखमा काँग्रेसका कुन्साङ लामा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न बहादुर लामा निर्वाचित भएका छन् । नगरपालिकाका उपप्रमुख सहित वडाका जनप्रतिनिधिले नगर प्रमुख कुन्साङ लामाबाट सपथ लिएका छन् । सपथग्रहण सँगै निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।
कार्यक्रममा निवर्तमान नमोबुद्धका जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै सम्मानका साथ बिदाई गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान नगरप्रमुख टि.पि. शर्मा तिमल्सिनाले आफ्नो पाँचबर्षको कार्यकालमा उल्लेखनिय काम गरेको बताएका छन् । नगरपालिकाको भवन निर्माण र प्रत्येक वडामा वडा कार्यालय निर्माण गरेको बताउदै नगरभित्र सुशासन, पूर्वाधार बिकास , शिक्षा ,स्वास्थ्य लगायतको क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरेको र कामको मूल्याङ्कन नगरवासिहरुले गर्ने बताएका छन् । त्यस्तै सम्बोधनकै क्रममा निवर्तमान उपप्रमुख रामदेवी तामाङले नगर भित्रका सबै वडावासीहरुको पक्षमा उभिएर नागरिकहरुको समस्यालाई सम्बोधन गदै समस्या समाधानको लागि पहल गरेको बताउदै नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् ।
वडा नम्बर १ मा स्वतन्त्रका उम्मेदवार प्रेम बहादुर तामाङ, वडा नम्बर २ मा काँग्रेसका कविराज श्रेष्ठ, वडा नम्बर ३ मा काँग्रेसका रमेश तिवारी, वडा नम्बर ४ मा एमालेका अर्जुन बहादुर कार्की, वडा नम्बर ५ मा काँग्रेसका सुर्य तामाङ निर्वाचित भएका छन् ।
यता वडा नम्बर ६ मा भने काँग्रेसका टिका बहादुर के.सी , वडा नम्बर ७ मा माओवादी केन्द्रका धर्म सिंह लामा, वडा नम्बर ८ मा एमालेका शेर बहादुर तामाङ, वडा नम्बर ९ मा काँग्रेसका वीरबहादुर लामाले जित हाँसिल गरेका थिए । त्यस्तै वडा नम्बर १० मा माओवादीका राम कृष्ण उपाध्याय र वडा नम्बर ११ मा एमालेका कृष्णबहादुर तामाङ निर्वाचित भएका छन् ।
संबिधान सभा सदस्य तिर्थ लामाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी हुमकला पान्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, नागरिक समाजका अध्यक्ष निगम हुँमागाई, निर्वाचन अधिकृत बिष्णु ज्ञवाली , नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना , बिभिन्न मिडियाका पत्रकारहरु लगायत नमोबुद्ध नगरपालिका भित्रका वडावासिहरुको उपस्थिति रहेकोे थियो ।