काभ्रे,
नेपालमा बर्सेनि करिब २० अर्ब रुपियाँको कृषि औजार तथा विभिन्न उपकरण अन्य देशहरुबाट आयात हुने गरेको छ । किसानहरुले प्रयोग गरिरहेका अधिकांश कृषि औजार तथा उपकरण भारत र चीनबाट आयात हुने गरेका छन् । सरकारी तथ्याङ्कअनुसार हाल ८० देखि ९० प्रतिशत कृषि औजार तथा उपकरण विदेशबाट आयात हुन्छन् । आधुनिक कृषि औजार तथा उपकरण प्रयोगमा कृषकको आकर्षण बढेको छ तर स्वदेशमै उत्पादन नहुने र विदेशबाट आयात गर्नुपर्दा महँगो पर्ने भएकाले धेरैजसो कृषकको पहुँचमा छैन। कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न सरकारले प्रोत्साहन गरिरहेको छ । सरकारले किसानलाई ५० प्रतिशतदेखि शतप्रतिशत अनुदानमा यी औजार वितरण पनि गर्ने गरेको छ तर यसरी वितरण गरिने कृषि औजार र उपकरण थोरै किसानले मात्रै पाएका छन् ।
कृषि औजार तथा उपकारण बिक्री वितरण गर्दै आएका नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका अध्यक्ष खोजराज कटुवालले सरकारले किसानलाई कृषि प्रविधि तथा औजार प्रयोग गर्न सिकाएतापनि ती औजार स्वदेशमै उत्पादन नहुने हुदा किसानको लागतमा वृद्धि भइरहेको बताएका छन । विदेशबाट निर्यात गर्नु परेकै कारण कृषि सामग्री र उपकरणमा ४० देखि ६० प्रतिशतसम्म बढी मूल्य लाग्ने गरेको सरकारी तथ्याङ्क छ । कृषि पूर्वाधार तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्र पौडेलले सरकारले आफ्नै कृषि औजार कारखाना सञ्चालनका लागि ध्यान दिनुपर्ने बताएका छन । बाहिरबाट कृषि औजार तथा उपकारण ल्याएर अनुदानमा किसानलाई वितरण गर्नुभन्दा नेपालमै आफ्नै कारखाना खोलेर बिक्री वितरण गरे सस्तो पर्ने उहाँको बुझाइ रहेको छ ।