काभ्रे,
नेपालकै लोपन्मुख अवस्थामा पुगेको हायु जातिको भाषा कक्षा रामेछाप नगरपालिकामा सन्चालन भएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश हायुले हरेक दिन ४५ मिनेट हायु बालबालिकालाई हायु भाषा पढाउदै आएका छन् । अहिले कक्षा १ देखी ५ सम्मका हायु बालबालिकालाई भाषा पढाइरहेको बताउँदैै उनले अब कक्षा ८ सम्मका हायु बालबालिकालाइ पनि हायु भाषा पढाउने तयारी भैरहेको बताएका छन् । स्थानीय तहले हायु भाषा र संस्कृती संरक्षणमा केहि काम नगरेको उनले गुनासो गरेका छन् । लोपोन्मुख जातिमा पर्ने यो जातिको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् तर ती सबै लोप हुने अवस्थामा पुगेका छन् । सरकारले हायु जातिलाई लोपोन्मुख जातिको सूचीमा राखेर मासिक प्रतिव्यक्ति ४ हजार भत्तासमेत दिँदै आएको छ ।
मंगोल महावंशको किराँत समुदाय अन्र्तगत पर्ने हायु जाति रामेछाप, सिन्धुली,उदयपुर, काभ्रे, ओखलढुंगा,सर्लाही लगायतका केहि जिल्लामा छरिएर बसेको पाइन्छ । हायु किरात समुदाय भित्र पर्दछ । हायुहरुको सबभन्दा ठुलो र शक्तिशाली देवी ईस्वारीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो । जुन देवीको थान रामेछाप नगरपालीका वडा नम्बर७ मुडाजोरको पालीगाउँ स्थित पर्दछ । पछिल्लो समय लोप हुँदै गएको हायु भाषा,संस्कार र संस्कृती संरक्षणमा कुनै निकायले पनि चासो नदेखाएको महाकाली आधारभूत विद्यालयका शिक्षक सुजन हायुले बताएका छन् ।