काभ्रे,
काभ्रेको पनौती नगरपालिकाले किसानलाई भैंसीको सुत्केरी भत्ता वितरण सुरु गरेको छ । कृषि तथा पशुपंछी शाखाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार भैसी आनुवांसिक संरक्षण कार्यक्रम अन्तर्गत भैंसी सुत्केरी भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी वडा २ र ३ का किसानहरुलाई भैंसीको सुत्केरी भत्ता वितरण गरेको हो ।
दुई वटा वडाका १३५ जना किसानलाई नगरप्रमूख भिम न्यौपानेले भैंसी सुत्केरी भत्ता वितरण गरेका छन । भैंसी सत्केरी भत्ता अन्तर्गत दोस्रो किस्ता वापतको एक मुष्ट ६ लाख, ३५ हजार रुपैयाँ किसानलाई दिइएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमूख न्यौपाने, उपप्रमुख गिता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष पुरुषोतम अधिकारी र किशोर थापा, कृषि तथा पशुपन्छी शाखा प्रमूख मणिप्रसाद सापकोटा लगायत सहभागि रहेका थिए ।