काभ्रे,
भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक पुरुष र एक महिला बेपत्ता भएका छन् । पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नगरपालिका–५ की अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरूका आफन्तले गरेका छन् ।
परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सार्वसाधारणमा आग्रह गरेको छ ।