काभ्रे,
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग सही निर्णय भएको बताएका छन । आज नेपाली काँग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलामा बोल्दै महामन्त्री थापाले महाअभियोग ढिला दर्ता भएपनि सही निर्णय भएको बताएका हुन । उनले न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको बताए । ‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था थियो, बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्,’ थापाले भने, ‘उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’ महाअभियोग पास हुने÷नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताएका छन ।
एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उनले छिटो भन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताएका छन । २०६८ सालयताका सबै सरकारले एमसीसी स्वीकारेर प्रक्रियाअघि बढाएको भन्दै देशमा ठूलो पूर्वाधार बन्नको लागि वैदेशिक सहायता आवश्यक भएको तर्क गरका छन । २०६८ सालयताका सबै सरकारले प्रक्रियाअघि बढाएकाले, एमसीसी पास नगर्ने हो भने त्यसयताका नेतृत्वले बेला हामी सुरमा थिएनौं भनेर भन्नुपर्छ, थापाले भने ।
वैशाख ३० गते तोकिएको निर्वाचन कुनै पनि हालतमा नटर्ने भन्दै उनले गठबन्धनबारे निर्णय सम्बन्धित तहका पार्टी कमिटीले नै गर्ने बताएका छन । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामाले नेपाली काँग्रेसले १३५ वटै वडामा साताव्यापी संगठन निर्माणलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन । जिल्ला सचिव गुणराज मुक्तानले सञ्चालन गरेको कार्यक्रममा जिल्ला उपसभापति रमेश हुमागाई, सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामा, प्रदेशसभाका क्षेत्रिय सभापति लगायतको उपस्थिती रहेको थियो ।