काभ्रे,
प्रेस सेन्टर नेपाल बागमती प्रदेशको दोश्रो पूर्ण बैठक धादिङमा बिहीबार सम्पन्न भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सह सचिव बिजय बुर्लाकोटी सहितको उपस्थितीमा बसेको बैठकले प्रदेशका पदाधिकारीलाई जिल्ला र पालिका केन्द्रीत कार्यक्रम गर्नका लागि इन्चार्ज बनाइ खटाउने निर्णय गरेको छ । बैठकमा सगठनका केन्द्रिय अध्यक्ष जुगलले सगठनलाइ अझ बढी प्रभावकारी बनाउन निर्देशन दिएका छन ।
बैठकले बाग्मती प्रदेशका दशवटै जिल्लामा जिल्ला इन्चार्ज तोकको छ । बाग्मती प्रदेशका मुख्य सचिव धुर्व अधिकारीका अनुसार चितवनमाना नीमैया विष्ट , मकवानपुरमा सुमन गैरे , रसुवामा कपिलदेव खनाल , काभ्रेमा अन्जु डिम्दोङ , सिन्धुपाल्चोकमा सन्तोष दाहाल , रामेछापमा धूर्वचन्द खड्का , दोलखामा चन्द्रकला खत्री, सिन्धुलीमा गम्भिर विक, नुवाकोटमा इच्छापूर्ण कार्की र सन्तोष देवकोटालाई धादिङ्गमा जिल्ला इन्चार्ज बनाएर पठाइएको छ ।
बैठकले मकवानपुरवाट प्रेस सेन्टरको प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने इच्छापूर्ण कार्कीलाई प्रदेश सचिव पदमा मनोनित गर्ने, प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको आकस्मिक उपचार तथा बिपद्मा सहयोग गर्नका लागि प्रेस सेन्टर आपतकालिन कोषको स्थापना गर्ने, प्रदेश राजधानी हेटौंडामा कार्यालय स्थापना गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको प्रदेश अध्यक्ष यदुनाथ गौतमले बताएका छन । जिल्ला इन्चार्जले जिल्लामा पत्रकारिताको वस्तु स्थिति र संगठन विस्तार, कार्यालय स्थापना गर्ने, प्रेस सेन्टर नेपालको पालिका तहमा कमिटी गठनका लागि सहजीकरण लगायतका क्रियाकलाप गर्ने उनले जानकारी दिएका छन ।
बैठकमा प्रेस सेन्टर नेपालका नेताद्वय सुरेशचन्द्र अधिकारी, लक्ष्मण खड्का, नेकपा माओवादी केन्द्र प्रदेश प्रवास कमिटी सदस्य रमेश तिवारी, संगठनका केन्द्रीय सदस्य रमेश आचार्य, नारायण सिलवाल र कृष्ण सारु मगर, संगठन वागमती प्रदेशका अनुशासन कमिटीका संयोजक भरत अधिकारीको आतिथ्यता रहेको थियो ।