काभ्रे,
देखावटीका लागि बिवाह भोजलाई खर्चालु बनाउने प्रतिस्प्रर्धालाई अन्त्य गर्ने उद्धेश्य सहित पनौतीका नवदम्पतीले बिवाहमा लाग्ने खर्च कटाएर आर्थिक अवस्था कमजोर रहेकालाई ठेलगाडा र रिक्सा सहयोग गरेका छन । पनौतीको एक पार्टी प्यालेसमा भएको कार्यक्रममा नवदम्पतीलाई शुभकामना दिन नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति तीर्थ लामा, प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामा लगायतका नेताहरु पुगेका थिए ।
पनौती नगरपालिका–४ का सुमेश थापा र नबिना खड्काले बिवाह भोजमा हुने खर्चबाट आर्थिक अवस्था कमजोर रहेका १२ जनालाई ठेलगाडा र रिक्सा दिएका हुन । माघ २७ गते वैवाहिक जीवनमा बाधिएका उनीहरुले पनौतीका १० जनालाई ठेलगाडा र दुई जनालाई रिक्सा वितरण गरेका छन । निःशुल्क रुपमा वितरण गरिएको ठेलगाडा र रिक्सा चलाएर कमाएको आम्दानीबाट उनीहरुले परिवारको पालन पोषणमा खर्च गर्न सक्ने छन । बिवाहको भोजमा हुने खर्चलाई कटाएर उनीहरुलाई सहयोग गरेको सुमेश र नबिनाले जानकारी दिएका छन । समाज परिर्वतनका लागि आफूबाटै सुरुवात गर्नपर्छ भनेर हामीले आर्थिक अवस्था कमजोर रहेकालाई सहयोग गरेका हौँ । उक्त सहयोगले उनीहरुको जीवननिर्वाहमा सहज हुने विश्वास लिएको सुमेशले जानकारी दिएका छन ।
छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सृजनशिल युवा समाजले व्यवस्थापन गर्ने गरी ठेलगाडा र रिक्सा दिइएको छ । ठेलगाडा र रिक्सा बेच्न नपाइने सुमेशले बताए । एउटा ठेलगाडाको ४० हजार रुपियाँ खर्च भएको बताइएको थियो । ठेलगाडामा ससेज, पानीपुरी, मःम लगायतका खाजा खुवाउन सकिने गरि बनाइएको छ । छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सृजनशिल युवा समाजले १८ जनालाई ससेज, पानीपुरी, मःम बनाउन दुई दिने तालिम समेत दिएको थियो ।