रोशी सहकर्मी, असोज १८
दशैं नजिकिदै गर्दा काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्ग भएर बाहिरिने यात्रुबाहक सवारीसाधनको चापमा वृद्धि भएको छ ।
काभ्रे जिल्ला लगायत पूर्वी जिल्लाहरुसंगै तराइ जोड्ने बनेपा–बर्दिवास (बीपी राजमार्ग) भएर गाउँ फर्कनेहरुको संख्या बढेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख दामोदर सिलवालले साविकमा गुड्ने सवारी भन्दा झन्डै तेब्बरले सवारी चाप बढेको बताए । यतिबेला ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ । त्यस्तै सिन्धुपालचोक, रामेछाप, दोलखा लगायका जिल्ला जोड्ने अरनिको राजमार्ग यतिवेला सवारी साधनको चाप बढेको छ ।
पूर्वी १५ जिल्ला संगै तराईका सात जिल्लालाई राजधानीसँग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको बीपी राजमार्गमा दशैँ आएसंगै सवारी चाप एकाएक वृद्धि भएको छ । बढ्दो सवारी चापलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले विभिन्न चेकपोष्टहरुमा यात्रुहरुको सुरक्षा लागि यात्रु साहायता कक्ष स्थापना गरी सेवा दिईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक दामोदर सिलवालले जानकारी दिए ।