काभ्रे,
काभ्रेको रोशी गाउँपालिका साथै जिल्लाको विभिन्न गाउँपालिकामा रहेका मगर समुदायले शनिबार धुमधामका साथ माघे सङ्क्रान्ति पर्व मनाएका छन् । मगर समुदायले माघे सङ्क्रान्ति पर्वलाई ‘राष्ट्रिय पर्व’ को रुपमा समेत मान्दै आएका छन् । रोशी गाउँपालिका–९ रजवासमा रहेका मगर समुदायले शनिवार चौकीटारमा भेला भई बृहत रुपमा माघे सङ्क्रान्ति पर्व मनाएका हुन ।
मगर समुदाय एक स्थानमा भेला भई प्रकृतिको सम्मान स्वरुप भूमि पुजा, बौद्ध पुजा गरि काँचो वन तरुल, पकाएको घर तरुल, वन तरुल, घ्यू, चाकु, फापरको ‘बारा’लगायतका विभिन्न परिकार खाएर सङ्क्रान्ति पर्व मनाइएको बताउदै मगर समुदायको संस्कृति, संस्कार, रीतिरिवाजको संरक्षण गर्नुपर्छ भनेर विगत केहि वर्षदेखि माघे सङ्क्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गरिएको स्थानीयबासी तथा नेपाल मगर बौद्ध सेवा समाज बागमतीका अध्यक्ष साधुराम राना मगरले बताएका छन । उहाँले मगर समुदायको धर्म, संस्कृति र परम्पराको संरक्षणको लागि रोशी गाउँपालिकाबाट हरेक वर्ष सहयोग हुँदै आएको बताउनुभयो ।
माघे सङ्क्रान्तिको अवसरमा नै रोशी गाउँपालिका र स्थानीयबासीको सहयोग रोशी गाउँपालिका– ९ मा निर्माण गरिएको बौद्ध बिहारको उद्घाटन गरिएको छ । करिब बीस लाख रुपियाँको लागतमा निर्माण भएको उक्त बौद्ध बिहारको भिक्षु दिपकबाट उद्घाटन गरिएको हो । रोशी गाउँपालिकामा कुल जनसङ्ख्याको करिब ११ दशमलव १ प्रतिशत अर्थात् चार हजार ३२२ जना मगर जातिको बसोबास रहेको गाउँपालिकाले २०७५ सालमा गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्कमा उल्लेख छ । यसैबीच जिल्लाको महाभारत गाउँपालिकामा रहेका मगर समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाएका छन् ।
माघे सङ्क्रान्ति पर्व कहिलेबाट मनाउन सुरु गरिएको आधिकारिक उल्लेख नभएपनि मानिसहरुले यस पर्वलाई हरेक वर्ष मनाउँदै आएका छन् । विशेष गरि माघे सङ्क्रान्तिलाई चियोयाम सकिएर गर्मीलाई स्वागत गर्ने दिनको रुपमा समेत बुझिँदै आएको छ । महिनौदेखिको चिसोका कारण थलेको शरीरको अङ्गमा लागेको चिसो घटनाउनका लागि सङ्क्रान्तिका दिन घ्यू, चाकु, तरुल, तिल, पालुङ्गोको साग आदि खाने प्रचलन रहेको छ ।