काभ्रे,
चलाल गणेशस्थान वडा नम्बर ३ हाल बेथानचोक गाँउपालिका वडा नम्बर ४ का निल बहादुर तामाङ पक्राउ परेका छन्। निल बहादुरले २०६९ कात्तिक ८ गते चलालगणेशस्थान गाविस वडा नम्बर २ मा रहेको गणेश निम्न माध्यामिक बिद्यालयको सांस्कृतिक कार्यक्रममा एन्जल तामाङलाई धारिलो हतियार छुरा, लाठ्ठी मुक्का प्रहार गरी हत्या गरेका थिए । उक्त कार्यक्रम हेर्न च्यासिङ्गखर्क गाविस वडा नम्बर ९ बाट आएका मानिसहरु र चलालगणेशस्थान गाविस वडा नम्बर ३ का मानिसबीच झड्प भएको थियो । सोहि झड्पमा १८ बर्षीय एन्जल तामाङको ज्यान गएको थियो ।
३३ बर्षीय तामाङ भक्तपुर जिल्लाका दुधपाटी स्थित स्थानीय मिठाई पसलमा आफ्नो वास्तविक पहिचान लुकाई काम गर्दै आएका थिए । निल बहादुर तामाङ विरुद्ध ईलाका प्रहरी कार्यालय बनेपाले आवश्यक अनुसन्धान पश्चात अभियोग पत्रसाथ जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको थियो । निल बहादुर तामाङको नाममा अदालतले २०७४ असार १४ गतेको २० वर्ष कैद सजाँय हुने फैसला सुनाएको थियो । त्यसपछि निल बहादुर फरार रहेका थिए ।