रोशी सहकर्मी–मंङसिर २५,
काभ्रे/

जिल्लाको विकट डाँडापारि स्थित महाभारत गाउँपालिका वडा नं. १ छोटेसाहनका किसान यतिवेला बारिमा लगाएको कोदो भित्र्यााउने काममा ब्यस्त छन् । मकैपछिको दोस्रो अन्नबालीको रुपमा खेती गर्दै आएका यहाँका किसानहरु कोदोको बाला टिप्नको लागि गाउँले आपसमा मिलेर पर्म गरेर भित्र्याउने गरिन्छ ।
जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकाका कृषकहरुले विशेषगरि मकै र धान पछिको बाली कोदोको खेती गर्दै आएका छन् । त्यसरी लगाउँदै आएको बाली कोदो पाक्ने समय भएकाले त्यहाँका किसानहरु यतिवेला कोदो टिप्न बारीमा ब्यस्त बनेका हुन् ।
पोषणको दृष्टिकोणले महत्वपूर्ण बालीको रुपमा मानिएको कोदो दुःख गरेर खेती गरेपनि त्यसको उचित मुल्य नपाउँदा यहाँका किसानहरु चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षणको कार्यक्रम अगाडी बढाएको भएपनि विकट डाँडापारिका किसानले लगाउँदै आएको कोदोको संरक्षण र प्रबद्र्धन गर्ने विषयमा भने कुनै ध्यान दिएको पाईएको छैन । जिल्लाको मण्डनदेउपुर, चौरीदेउराली र बेथानचोकमा रैथाने बाली संरक्षण र प्रबद्र्धनको कार्यक्रम शुरु गरेपनि महाभारत र खानीखोलामा भने सो कार्यक्रम नरहेको कृषि ज्ञानकेन्द्र काभ्रेले जनाएको छ । पहिला–पहिला बेच्नको लागि पनि बोकेर लानुपर्ने बाध्यता रहेकोमा अब भने बल्ल सडक सुविधा पुगेर गाडी चल्न थालेकाले आम्दानीको स्रोत बन्ने आशामा रहेको किसानहरु बताउँछन् ।
यहाँका स्थानीयबासिन्दाहरु कोदोको पिठोबाट ढीडो, रोटी र खोले लगायतका परिकार बनाएर खाने गरिदै आएको छ । कोदो लगाउने क्षेत्रफलको यकिन तथ्याङ्क नभएपनि जिल्लाको महाभारत गाउँपालिकाको बनखु, गोलटार, सानोपोखरा, ठूलोपोखरा, देउराली, बुढाखानी, घर्तिछाप, गोकुले, कुपिन्टार र खानीखोला गाउँपालिकाको विभिन्न स्थानमा कोदो खेती गरिदै आएको छ ।

Facebook Comments Box