रोशी सहकर्मी-पौष १६,
काभ्रे/

गत कात्तिक १८ गते राति काभ्रे जिल्लको नमोबुद्ध नगरपालिका-८ मा भएको दम्पती हत्याका २ अभियुक्तलाई प्रहरीले पत्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नमोबुद्ध नगरपालिका ८ डराउनेपोखरी तल्लो हटियामा पसल सञ्चालन गर्दै आएका श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठको हत्या आरोपमा उदयपुर चौदण्डीगडी नगरपालिका१० का किरणकुमार मगर र सुमन राईलाई पक्राउ गरेको हो । काठमाण्डौ बस्दै आएका अभियुक्तहरु कात्तिक १८ गते पुुराना सिक्का चोर्ने मनसायले श्यामकृष्णको घर पुगेको अनुसन्धानबाट खुलेको छ । श्याम कृष्णको तिहारमा मात्रै घर सम्पन्न भएको थियो । पक्राउ परेका दुवै श्यामकृष्णको घर बनाउन प्रयोग भएका मजदूर रहेको समेत जनाईएको छ ।
जिल्ला प्रहरी प्रमुख रवि पौडेलका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले मगरलाई ललितपुर महानगरपालिका-२५, भैंसेपाटीबाट र राईलाई काठमाण्डौ महानगरपालिका-७, सरस्वतीनगरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पुरानो सिक्का छ भन्ने लोभमा लुट्न पुगेका उनिहरुले लुकाएर राखेको १ सय १२ थान सिक्का साथैै रुकुमायाले लगाएको मुन्द्रा बरामद भएको छ ।
अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार उनीहरु दम्पती बस्दै अएका घरको माथिल्लो झ्यालबाट घरभित्र छिरेका थिए । घर निर्माण गर्दा करिब ३ महिना श्रेष्ठकै घरमा बसेका उनीहरु अचानक झ्यालबाट प्रवेश गरेपछि श्याम कृष्णले सोधपुछ गर्न थाले, राई र मगरले उदयपुरबाट आएको र बास बस्ने ठाउँ नभएको भनेपछि उनले तल्लो तलामा बास बस्न दिएको अभियुक्तहरुले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ । जाडो भएकोले बियर र चाउचाउ खुवाउन दम्पतिलाई भने । अचानक रातको समयमा झ्यालबाट प्रवेश गरेपछि शंकामा परेका दम्पति निदाउन सकेनन् ।
मध्यरात हुँदासम्म घरधनी नसुतेपछि अभियुक्तहरुले श्यामकृष्णलाई फेरि बियर खानुर्पयो भनेर माथिल्लो तलामा रहेका उनलाई तल्लो तलामा बोलाए र झर्नेबित्तिकै उनीहरुले श्यामकृष्णलाई खुर्पा प्रहार गरी हत्या गरे । तल्लो तलामा ठुलै आवाज अएपछि रुकुमाया तल्लो तलामा झरीन् । अभियुक्तमध्ये मगरले बियरको बोतल टाउकोमा प्रहार गरी दुवैको हत्या गरे । आफ्नो ईरादा पुरा हुनासाथ सिक्का चोरेर नजिकैको प्रेमलाल श्रेष्ठको गोठमा सब राखेर रातीनै काठमाण्डौ गएको बयानमा उल्लेख छ । पक्राउ परेका दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय धुलिखेलमा सार्वजनिक गरिएको हो । अभियुक्त सार्वजनिक गर्दै एसपी रविराज पौडेलले पक्राउ परेको उपर थप अनुसन्धानका लागि ७ दिन म्याद जिल्ला अदालतबाट थप गरिएको जानकारी दिए ।

Facebook Comments