रोशी सहकर्मी-पौष १६,
काभ्रे/

आजबाट शुरु भएको ‘पर्यटन वर्ष–२०२०’ लाई स्वागत गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई काभ्रे जिल्लाले पनि भव्यताका साथ मनाउन शुरु गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलमा आज पर्यटन बर्ष २०२० जिल्ला स्तरिय मूल समिति तथा नगर स्तरिय समितिको संयुक्त आयोजनामा बाजागाजा र जातिय पहिचान झल्काउने झाँकी सहित नगर परिक्रमा पश्चात प्रदेश नं. ३ को आर्थिक सहयोगमा निर्माण हुन लागिएको ‘नेपाल भ्रमण बर्ष २०२० स्तम्भ’को शिलान्यास गरेको छ ।
सो क्रममा धुलिखेलमा आईपुगेका विदेशी पर्यटकहरुलाई टिका र खादा लगाएर स्वागत गरिएको छ । भ्रमण बर्ष २०२० को लागि जिल्ला समन्वय प्रमुख उद्धव केसीको संयोजकत्वमा जिल्ला स्तरिय समिति गठनसंगै सचिवालय समिति, उप–समितिहरू गठन गरेका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहले समिति गठन गरी पर्यटकलाई स्वागत तथा आवश्यक ब्यवस्थापनको काम भईरहेको जनाएको छ ।

काभ्रे जिल्लामा पर्यटन प्रबद्र्धनको लागि विषेश गरी प्राकृतिक, धार्मिक, सांस्कृतिक, स्थलहरुको अवलोकन गर्न पर्यटकको लागि आर्कषक गन्तव्य बनेको छ । जिल्लामा भ्रमण गर्न आउने पर्यटकहरुका लागि स्तरअनुसारका ५० भन्दा धेरै होटल तथा लजको ब्यवस्था रहेको छ । होटल ब्यवसायिहरुले पनि भ्रमण बर्षलाई लक्षित गरी स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि विशेष छुटका साथ प्याकेजको ब्यवस्था गरिएको क्षेत्रीय होटल ब्यवसायि संघका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले बताउनुभयो ।

Facebook Comments