रोशी सहकर्मी–पौष १८,
तेमाल/

नेपाल भ्रमण वर्ष २०२० साथै ल्होछार पर्वको उपलक्ष्यमा जिल्लाको तेमाल गाँउपालिकामा अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्वस्थ जीवनका लागि खेलकुद, व्यक्तित्व विकासका लागि खेलकुद, आन्तरिक पर्यटन प्रर्वधनका लागि खेलकुद भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताका संयोजक वडा नं ७ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । माघ ३ गतेबाट सुरु हुने फुटबल प्रतियोगिता तामाङ समुदायको महान पर्व ल्होछार र नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग मिल्ने अपेक्षाका साथ आयोजना गर्न लागिएको उनले बताए ।
खेलमा सहभागिता जनाउनको लागि पौष २९ गतेभित्र अध्यक्षकप फुटवल प्रतियोगिता आयोजक तथा व्यवस्थापन समितिको सचिवालय, तेमाल गाउँपालिका कार्यालयमा टिम दर्ता गराउनुपर्ने संयोजक तामाङले बताए । टिम दर्ता गर्न २ हजार लाग्ने र टिम दर्ता फारम गाउँपालिका कार्यालयबाट पाईने पनि उनले बताए । दर्ता को लागी खेलाडीले नागरिकताको प्रमाणपत्र वा जन्मदतार्को प्रमाणपत्र, ३ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्नेछ । खेलाडी सोही वडाको हुनुपर्नेछ । एउटा वडाबाट एक टिमको मात्र सहभागीता रहने प्रतियोगिता नकआउट चरणमा खेलाइने छ ।
प्रतियोगितामा सहभागी हुने टिमले म्यानेजर र प्रशिक्षक सहित २० जना दर्ता गराउनुपर्ने साथै खेलमा सहभागी टिमले जर्सी लगायत खानाको व्यवस्था पनि टिमले नै गर्नुपर्ने संयोजक तामाङले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित कप प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछ । तेस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृट खेलाडी, बढी गोल गर्ने खेलाडी र वेष्ट गोल किपरले ५÷५ हजार पुरस्कार पाउनेछन् । तेमाल गाउँपालिका अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिता गाउँपालिकाको वडा नम्वर ७ स्थित प्रस्तावित रंगशालामा हुनेछ । सोहि अवसरमा साग फुटवलका गोल्ड मेडलिस्ट तेज तामाङलाई नगद ७५ हजार सहित सम्मान गर्ने कार्यक्रम रहेको छ भने स्क्वायडमा कास्यपदक जित्ने विपना ब्लोनलाई नगद २५ हजार सहित सम्मान गरिनेछ । फुटबल प्रतियोगिताको माघ ५ गते फाईनल खेल हुने छ ।

Facebook Comments