रोशी सहकर्मी–पौष २१,
काभ्रे(पिन्थली)/

रोशी गाउँपालिका वडा न ९ मा रहेको पिन्थली गाउँका कृषकले लसुन खेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । यहाँका कृषकले खेतबारीभरी लसुन लगाएका छन । पिन्थलीबासीले लसुन बेचेरै दुई करोड भन्दा बढी आम्दानी लिने गरेको बताउँछन । स्थानीय ब्रजध्वज लामाले पिन्थलीका १६९ घरधुरीको नै मुख्य खेती लसुन भएको बताउनुभयो । यहाँका कृषकले बर्षौ देखी लसुन खेती गर्दै आउनुभएको छ । यहाँबाट बार्षिक दुई-तीन करोड लसुन बेचेर आम्दानी लिने गरिएको लामाले बताउनुभयो । उहाँले एक सय ५० रोपनीमा लसुन खेती भएको बताउनुभयो ।
सिँचाईको राम्रो व्यवस्था भएको यस भेगका कृषक लसुनको हरियो बोट बेच्ने गरेका छन । खेतबारीमा नै व्यापारी आएर लसुनको हरियो बोट किन्ने गरेको स्थानीय शेरप लामाले जानकारी दिनुभयो । यहाँका कृषकले उत्पादन गरेको लसुन भकुण्डे, धुलिखेल, बनेपा र काठमाडौं उपत्यका जाने गरेको छ । बीपी राजमार्गसँगै जोडिएको यस भेगमा स्थानीयहरुको मुख्य पेशा कृषि रहेको छ । स्थानीय सूर्य बहादुर तामाङले प्रतिधार्नी दुई सय ३० रुपियाँमा हरियो लसुन विक्री भएको बताउनुभयो । सिँचाईको राम्रो प्रबन्ध छ । बजार भाउ पनि राम्रै पाइने भएपछि १० बर्षदेखी लसुन खेती गर्दै आएको उहाँको भनाई छ । अहिले स्थानीयले हिउँदे बालीमा लसुन खेती मात्र गर्दै आएको उहाँले बताउनुभयो । खेती गर्न पनि दुःख नहुने भएपछि र तत्काल बिक्रीबाट आम्दानी पनि लिन सकिने भएपछि विस्तारै यहाँका किसानले व्यवसायी लसुन खेती नै सुरु गरेका छन ।

Facebook Comments Box