रोशी सहकर्मी–पौष २१,
काभ्रे/

जिल्ला स्तरिय अनुगमन टोलिले जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा खानी उधोगहरुमा अनुगमन गरेको छ । वर्षौंदेखि मापदण्डविपरीत सञ्चालन गर्दै आएका क्रसर तथा रोडाढुङ्गा खानीको वषै पिच्छे अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक कागजात जिल्ला ल्याउन भन्दै निर्देशन दिएको छ । गत साल जस्तै अनुगमन, विधि प्रक्रिया यस वर्ष पुस महिनामा पनि दोहोरिएको छ । जिल्लास्थित अनुगमन समितिले अनुगमनपछि प्रतिवेदन तयार गर्छ र त्यस उपर सरोकारवाला डाकेर छलफल गर्ने संस्कारलाई यस वर्ष पनि निरन्तरता दिने योजना बनाएको छ । दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडाढुङ्गा खानी गत साल नै बन्द गर्ने निर्णय भए पनि हालसम्म बन्द गरिएको छैन । वर्षौंदेखि अवैधरुपमा सञ्चालित खानी सञ्चालकले वर्षेनी दर्ता प्रक्रियामा छौँ भन्ने जवाफ दिने गरेका छन् ।
अनुगमनका क्रममा सम्झौता बेगर बालुवा उत्खनन् गरिएको समेत पाइएको छ । यस वर्षको अनुगमनपछि ३ नं प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरिएको प्रमुख जिल्ला अधिकारी श्रबणकुमार तिमल्सिनाले बताउनुभयो । गत सालको अनुगमन प्रतिवेदनले जिल्लाका २३ वटै खानी तथा क्रसर अवैधानिक देखाएको थियो । तर पटक–पटक सरोकारवाला जनाउँदै जिसस पदाधिकारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी एवं नागरिक समाजसँग छलफल गरेर अवैध खानी बन्द गर्ने निर्णय नै गरे पनि बन्द गराउन सकिएको छैन । गत साल बन्द गरिएको भनिएका उधोगहरु निर्वाधरुपमा चलिरहेका छन् । अनुगमनका क्रममा अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको छ । अवैधानिक खानीका कारण बस्तीसमत जोखिममा पर्ने देखिन्छ ।

Facebook Comments