रोशी सहकर्मी–पौष २७,
काभ्रे/

काभ्रे जिल्ला आलु उत्पादनका लागि उर्वर भूमी मानिन्छ । अहिले काभ्रे जिल्लाका किसानहरुलाई आलु रोप्न भ्याईनभ्याई छ । विगतका वर्षहरुमा किसानहरुले समयमा नै मलहरु नपाउने अवस्था रहेको थियो । यस वर्ष भने आलु उत्पादनका लागि समयमा नै मल पाएपछि किसानहरु खुशी छन् । काभ्रे जिल्लामा डेजिरे, जनकदेव, खुमल रातो–२, खुमल लक्ष्मी जातका आलु किसानहरुले खेती गर्ने गरेका छन् ।
आर्थिक वर्ष ०७५÷७६ मा काभ्रे जिल्लामा करिब नौ हजार आठ सय हेक्टरमा लगाइएको आलु खेतीबाट करिब १ लाख ८५ हजार टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा रहेको छ ।
आलु खेतीका लागि काभ्रे जिल्ला विगतदेखि नै कहलिँदै आएको हो । यहाँको विद्यमान खेती प्रणालीलाई आधुनिकीकरण गर्दै आलुको उत्पादनदेखि प्रशोधनसम्म कृषकको दक्षता बढाउने लक्ष्यले २०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु सुपरजोन एकाइ कार्यक्रम लागू भएको छ । जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डन देउपुर, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा हिउँद र वर्षामा गरी दुई सिजनको आलु खेती हुने गरेको छ ।

Facebook Comments