रोशी सहकर्मी–पौष २८,
काभ्रे/

पछिल्लो समय बढ्दो दुर्घटनामा ५० प्रतिशल टिपरको संलग्नता देखिएसँगै टिपर चालकलाई सपथ खुवाईएको छ । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेले लापर्बाही नगर्ने लिखित प्रतिबद्धता सहित टिपर चालकहरुलाई सपथ खुवाएका हुन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल तामाङ समक्ष चालकहरुले दुर्घटना कम गर्ने विभिन्न १० बुँदे प्रतिबद्धता गरेका छन् ।
सपथमा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, तीव्र गतिमा नकुदाउने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने, संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, क्याबिन र ढालामा यात्रु नराख्ने, आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, गाडीको कागजपत्र सधैं साथमा राख्ने र ट्राफिक नियमको पालना गर्ने सपथमा उल्लेख छ ।
बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम तामाङले दुर्घटना न्युनिकरण गर्नका लागी चालकलाई सपथ खुवाएको बताए । अरु सवारीसाधनको गल्ती हुँदा पनि दोष टिपरले नै पाउने गरेको गुनासो गर्दै तामाङले टिपर मात्रै हैन सबै सवारी सधनका चालकहरु साथै सर्वसाधरण पनि सचेत रहन आवश्यक रहेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्ने गरेको र सवारी दुर्घटनामा ५० प्रतिशत टिपरको संलग्न हुने तथ्याङक रहेको बताए । आ.व. २०७५–७६ मा ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको संलग्नता रहेको बताँउदै ३७ जनाले ज्यान गुमाएकोमा टिपरकै कारण ११ जनाको मृत्यु भएको जानकारी दिए ।

Facebook Comments Box