रोशी सहकर्मी–पौष २८,
काभ्रे/

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) काभ्रेपलाञ्चोकले बिद्यालय पुनर्निर्माणलाई तीब्रता दिएको छ । २०४ बिद्यालय निर्माण सम्पन्न भएर बिद्यालयलाई हस्तान्तरण गरेको आयोजनाले जनाएको छ । २०४ बिद्यालय निर्माण सम्पन्न भइसकेको इकाईका प्रमुख द्धारिका पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १७६ र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण सम्पन्न भएका २८ बिद्यालय निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोवित श्रेष्ठले बिद्यालय व्यवस्थापन समिति मार्फत २२२ बिद्यालय मध्ये १७६ सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा ६८ बिद्यालय भवन बनाउन सम्झौता भएकामा ६५ सम्पन्न भएका छन । त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा ७० निर्माण गर्ने सम्झौता भएकामा ५८ वटा सम्पन्न भएका छन भने आर्थिक बर्ष ०७५/०७६ मा ८४ बिद्यालय भवन निर्माणका लागि सम्झौता भएकोमा ४८ बिद्यालय भवन सम्पन्न भएका छन ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले भूकम्पीय आपतकालीन सहायता परियोजना मार्फत निर्माण सुरु गरेका २८ बिद्यालय सम्पन्न भएका छन । १४ माध्यमिक र १४ प्राथमिक बिद्यालय भवन एसियाली विकास बैङकको ऋण सहयोगमा सम्पन्न भएका थिए । त्यस्तै एडिबी कै ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वनय इकाई (शिक्षा) ले विपद् व्यवस्थापन बिद्यालय परियोजना मार्फत १९ बिद्यालयको निर्माण सुरु भएको छ । भारत सरकारको सहयोगमा १० बिद्यालय पनि निर्माण सुरु हुन लागेको इकाईले जनाएको छ । जिल्लाका ५८७ सामुदायिक विद्यालय मध्ये ३५३ पूर्ण र १७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।

Facebook Comments