रोशी सहकर्मी–माघ ११,
२०७६,रोशी/

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाइरहेका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६ औँ वर्ष सुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
यसै अवसरमा जिल्लाको रोशी गाँउपालिका वडा नं ७ चारसय वेशीमा गाँउपालिका स्तरीय ल्होछार मेला कार्यक्रमको दोश्रो दिन भव्यताका साथ सम्पन्न छ । तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” मुसा वर्षको अवसरमा रोशी गाँउपालिकाको सहयोग र बर पिपल युवा क्लबको संयोजकत्वमा गाँउपालिका स्तरीय बृहत तीन दिने सोनाम ल्होछार कार्यक्रमको आयोजना भएको हो । ल्होछारको पहिलो दिन श्रदय गुरु छ्योकी रिङ्मा रिन्र्पाछे द्धारा पुजा अर्चना गरी प्रवचन सहित ल्होछारको सुरुवात भएको थियो ।
कार्यक्रमको उद्धघाटन प्रमुख अतिथी रोशी गाँउपालिका प्रमुख दल बहादुर लामाले गरेका हुन् । त्यस्तै कार्यक्रममा गाँउपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी बर्तौला, रोशी गाँपालिकाका १ देखी १२ वटै वडाका वडाअध्यक्षहरु, नमोबुद्ध नगरपालिकाका सभापति कुन्साङ लामा, समाजसेवी शंख बुद्ध लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, समाजसेवी, बुद्धिजिवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा झाँकि प्रदर्शनी, खैजडी भजन साथै चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस अवसरमा वाग्मती प्रदेशले हिजो नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

Facebook Comments