यश कुमार परियार–माघ १२,
२०७६,नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालिका साक्षर घोषणा भएको छ । नगरपालिका भित्र बसोबास गर्ने १५ देखि ६० बर्ष उमेर समुहका निरक्षर मध्ये ९६.४ प्रतिशत साक्षर भएपछि आज (आईतबार) जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सीले साक्षर नगर घोषणा गरेका हुन् । कुल ३८ हजार ६ सय ६९ जनसंख्या रहेको यस नगर भित्र १५ देखि ६० वर्ष उमेर समुहका २६ हजार ७ सय ४२ जनसंख्या मध्य २५ हजार ७ सय ८० जना साक्षर रहेका छन् ।
घोषणा पछि सम्बोधन गर्दै प्रमुख अतिथी उद्धव के.सीले साक्षर जिल्ला अभियानमा सहयोग पुर्याउने नमोबुद्ध नगरपालिकालाई धन्यवाद दिए । साथै निरक्षर ९ सय ६२ जनालाई कसरी साक्षर बनाउन सकिन्छ, त्यसमा जोड दिन पनि आग्रह गरे ।
कार्यक्रमका सभापति एवं नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाले साक्षर नगर बनाउन साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । नमोबुद्ध नगरको आव्हानः पुर्ण साक्षर नगर र निरन्तर शिक्षा हाम्रो अभियान भन्ने नारा बोकेको यस अभियान अन्तर्गत नगरलाई सदैब शिक्षाको उज्यालोमा राख्न हरेक तवरबाट प्रयासरत रहेने उनले बताए । शिक्षामा मात्रै केन्द्रित भएर समृद्धि तर्फ लाग्न नसकिने भएकाले स्वास्थ्य, कृषि लगायतका पूर्वाधार विकासमा लाग्न सकेमात्र समृद्ध नगर हुने बताए ।

कार्यक्रमको अवसरमा २०७५ को एस्.ई.ई. मा जिल्ला प्रथम हुन सफल वडा नं १० स्थित बाल उज्वल माध्यमिक बिध्यालयका बिद्यार्थी शुसिल गौतमलाई सम्मान पनि गरिएको थियो । साथै नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाले उच्च मा.बि. तह सम्मको पढाईका लागि आफुले पाएको भत्ता रकम जम्मा गरी वार्षिक ६५ हजार दिने वचनका साथ नगद हस्तान्तरण गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाई, शिक्षा विकास निर्देशनालय बाग्मति प्रदेशका निर्देशक चन्द्र प्रसाद लुईटेल, जिल्ला समन्वय अधिकारी सच्युत राज उप्रेती, २६ दल बाहिनी अड्डाका प्रतिनिधि अर्जुन थापा, नमोबुद्ध नगरपालिका उपप्रमुख राम देबि तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख जनार्दन रिजालले साक्षर नगर घोषणाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments Box