यश कुमार परियार–माघ १२,
२०७६,तेमाल/

तामाङ समुदायको बाक्लो जनसंख्या रहेको तेमाल गाँउपालिकाले सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनीक विदा दिएको छ । प्राय सबै व्यक्तिहरु सहर केन्द्रित हुँदा मौलिक साँस्कृतिक पर्व ल्होछार लोप हुने अवस्थामा पुगेको देखिन्छ । तर यसै बिच तेमाल गाँउपालिका वडा नं ७ का स्थानीयले भने वडा अध्यक्ष सँग बसेर शुभकामना आदन प्रदान कार्यक्रम गर्दै ल्होछार पर्व मनाएका छन् ।
स्थानीय लामा गुरु, गान्बा ताम्बा बोन्चो साथै स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा गाँउपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ प्रमुख अतिथि रहेका थिए । तामाङ समुदायहरुले नयाँ बर्षको रुपमा मनाईने यस पर्वमा समुदायका सम्पुर्ण मान्यजन, आफन्त, ईष्ट मित्रहरु सँगै बसी दुख सुख साँटासाँट गर्ने चलन रहेको छ । तर युग आधुनिकता तर्फ लम्कदै गर्दा यस्ता प्रचलनहरु बिस्तारै बिस्तारै लोप हुँदै गएकोमा सहभागिहरुले चिन्ता व्यक्त गरे ।

यसै अवसरमा तेमाल गााउपालिकामा वडा नं ७ मेटुवालमा स्थापना गरिएको छ्योर्तेन (स्तुपा) को वडा अध्यक्ष ज्ञान बहादुर तामाङले उद्धघाटन गरेका छन् । २८५६ औँ जिवा ल्हो सोनाम ल्होछार को अवसरमा भेला भएका मान्यजन सँग शुभकामना आदन प्रदान गर्दै उनले उद्धघाटन गरेका हुन् ।
उद्धघाटन सँगै प्रवक्ता तामाङले सम्बोधन गर्दै तामाङ समुदायहरुको परम्परा, पहिचानको संरक्षण गर्न आवश्यक रहेको बताए । लोप हुँदै गएको धर्म संस्कृतिलाई जगेर्ण गर्दै जान आवश्यक रहेको बताँउदै शहरमा बसेर हैन, गाँउ घरमा आफ्ना आफन्तहरुसँग मनाउन पनि आग्रह गरे ।

तामाङ ल्होछार टुँडिखेलमा हैन, गाँउ गाँउ तामाङ समुदायमा मनाऔँ भन्ने मुल नारा रहेको शुभकामना आदन प्रदान कार्यक्रममा ठुलाले सानालाई मोलाम आशिर्वाद दिने, तामाङ समुदायमा प्रचलित खानाका परिकारहरु, सेलरोटी, बिभिन्न प्रकारका फलफुलहरु खाने साथै मौलीक गित गाउने गरिएको थियो ।

Facebook Comments