
रोशी सहकर्मी–माघ २८,
२०७६,काभ्रे/
काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ दोलालघाट बन्देउमा बुद्धपार्क सहितको भ्युटावर निर्माण हुने भएको छ । दोलालघाट बजार सहित आसपासको क्षेत्रलाई लक्षित गर्दै बनदेउटारमा निर्माण हुन लागेको पार्क प्रदेश सरकारले विनियोजन गरेको २ करोड २४ लाख बजेटमा पहिलो चरणको निर्माण सम्पन्न हुने छ ।
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सोमबार एक कार्यक्रमका बीच उक्त भ्यूटावर सहितको बुद्धपार्कको शिलन्यास गरेका हुन् । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री नेपालले प्रशस्त सम्भावना भएको काभ्रेलाई मुलुककै नमुना बनाउने गरी कार्य भईरहेको बताए । उनले पर्यटन क्षेत्रबाट रोजगार श्रृजना गरी जनताको जीवनस्तर उकास्ने गरी कार्य गरिरहेको बताए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले जिल्लामा झण्डै १५ करोड बराबरको बजेट पर्यटन क्षेत्रमा संघ र प्रदेश सरकार मार्फत विनियोजन भएको बताँउदै विकास निर्माणमा तीनै तहका सरकार सक्रिय हुनु पर्ने बताए
कार्यक्रममा पुर्व राज्य मन्त्री गोविन्दनाथ उप्रेती, बाग्मती प्रदेशका सदस्य लक्ष्मण लम्साल, गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठ, दोलालघाट उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति, वडा अध्यक्ष मोतिलाल तामाङ, नेकपा नेता प्रेम भुजेल लगायतले मन्तब्य राखेका थिए ।
प्र्रदेश सरकारले विनियोजन गरेको २ करोड २४ लाख बजेटमा निर्माण हुने पहिलो चरणमा भ्यु टाओर सहित सिँढी, तीन वटा शौचालय, ७ वटा वनभोजका लागि ‘गजेवो’, २ सय भन्दा धेरै मेचहरु राखिने आयोजना प्रमुख शिव सापकोटाले जानकारी दिए । त्यस्तै दोश्रो चरणको निर्माणमा बुद्धको मुर्ति राखिने पनि प्रमुख सापकोटाले जानकारी दिए ।