रोशी सहकर्मी–माघ २९,
२०७६,गुम्बागाँउ/

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३ मा एक हप्तामै १०० जना भन्दा बढि बिरामी परेका छन् । जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस वडा नम्बर ८ वस्तीमा रुघाखोकी र ज्वरोका कारण १०० जना भन्दा बढि बिरामी परेका हुन् । गाउँमा अत्यधिक ज्वरोले बिरामी पर्न थालेपछि कोरोना भाइरसको आशंका गरिएको छ । माघ २३ गतेबाट टाउको दुख्ने, ज्वरो आउने र रुघाखोकीको लक्षणका कारण हिजोसम्म बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाँईका अनुसार कोरोना जस्तो लक्षण मात्र भएकोले शंका गर्ने आधार नरहेको बताए ।

जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधि र माक्स खरिद गरी पठाईसकेको चापागाँईले बताए । कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चिनसँग जोडिएका नाकाबाट आवतजावत अहिले बन्द भएकाले कोरोना नै हो भन्ने आधार नरहेको उनको भनाइ छ । बिरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ । गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले आफुहरु विषय विज्ञसँग नियमित संवादमा रहेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको उल्लेख गरे । आज (बुधबार) एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको विकले जानकारी दिए ।

Facebook Comments