रोशी सहकर्मी–माघ २९,
२०७६,गुम्बागाँउ/

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमण नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए ।
यसै बिच त्यहाँ रुघाखोकीका बिरामीको स्याम्पल परीक्षण गरिने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको आशंका गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश सरकारले चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई बिरामीको स्याम्पल संकलनका लागि प्रभावित क्षेत्रमा पठाएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख चापागाईँका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्रयोगशालाका प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएका छन् ।
गुम्बागाउँमा रुघाखोकीको बिरामीको संख्या बढ्दै गएपछि हिजो देखिनै पालिका स्तरका स्वास्थ्यकर्मी र बाह्रबिसे प्राथमिक स्वास्थ्यकेन्द्रका चिकित्सकसहितको टोली उपचारमा खटिएको प्रमुख चापागाईँले बताए ।
सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ जलवीरेबाट चिकित्सकको टोली लिएर त्यहाँ पुगेका छन् । श्रोष्ठका अनुसार गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । आज बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए ।

Facebook Comments