
रोशी सहकर्मी–फागुन ३,
२०७६,पनौती/
काभ्रेली सक्रिय महिला संगठनले सुरु गरेको पनौती सफाइ अभियान ५० औँ हप्ता पुगेको छ । ५० औँ हप्ता पुगेको अवसरमा बजार परिक्रम, नदी सफाइ तथा विभिन्न व्यक्तीहरुले सफाइमा सहभागि हुने प्रतिबद्धता जनाएका छन ।
“पनौती त्रिवेणी नागरिक सरसफाइ अभियान” नाम दिइएको उक्त सफाइ १२ बर्षीय मगर मेलालाई लक्षित गरेर सञ्चालन भइरहेको छ । उक्त संगठनकी अध्यक्ष सुमित्रा बञ्जाराले पनौती नगरपालिकाका महिलाको सक्रियतामा क्लिन पनौती, ग्रीन पनौती अभियान सुरु भएको जानकारी दिनुभयो । हरेक १२ बर्षमा लाग्ने ऐतिहासिक मगर मेला नजिकिएसँगै पनौतीलाई सफा र हरियाली नगरपालिका बनाउने अभियान सुरु भएको उहाँले बताउनुभयो ।
५० औँ हप्ता पुगेको अवसरमा शनिवार पनौतीमा सरसफाइ प्रतिवद्धता कार्यक्रम आयोजना गरिएको थियो । त्यस अवसरमा अधिकार सम्पन्न बाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रुमख लक्ष्मी दनुवार, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, समाजसेवी मधुप्रसाद आचार्य, अन्नपूर्ण नेटर्वक प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, बाग्मती सफाई अभियानका अभियान्ता किशोर शाही, ओम बस्नेत, पनौती नगरपालिका वडा न ७ का वडा सस्दय पुरुषोतम कर्मचार्य, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले महिलाले सुरु गरेको अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सफाइ अभियानमा नेपाली सेना विष्णु दल गण, जिल्ला प्रहरी कार्यालय लगायतको उपस्थिती रहेको थियो । सफाइपछि विभिन्न सफाइ सम्बन्धी प्ले कार्ड बोकेर पनौती बजार परिक्रममा गरिएको थियो ।