रोशी सहकर्मी–फागुन ११,
२०७६,काभ्रे/

बाग्मती प्रदेश सरकारका उपसभामुख राधिका तामाङले प्रदेश राजधानी हेरफेर हुन सक्ने बताउनुभएको छ । भुम्लु गाउँपालिकाको दोलालघाटमा रहेको दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको रजत महोत्सवको उद्घाटन कार्यक्रममा उक्त कुरा बताउनुभयो ।
प्रदेश राजधानी हेटौँडा अहिले भएपनि समयको माग अनुसार परिर्वतन हुन सक्ने बताउनुभयो । अहिले हतारमा अस्थायी राजधानी नै स्थायी भएको मात्र हो । उहाँले केन्द्रीय राजधानी नै सार्ने कुरा उठेको भन्दै प्रदेश राजधानी पनि आवश्यकताका आधारमा सर्न सक्ने बताउनुभयो । प्रदेश राजधानी अहिले हेटौडा भयो भनेर निराश नहुनुहोस्, आवश्यकताका आधारमा परिर्वतन हुन सक्छ, ढुङ्गामा लेखिएको शिलापत्र होइन ।
बाग्मती प्रदेश सरकारले ४५ वटा कानून बनाइसकेको जानकारी दिनुभयो । उहाँले अहिले बनेका कानूनका कमीकजोरी भए सुझाव दिन आमनागरिकसँग अपिल गर्नुभयो ।
तीन तहका सरकार मध्ये प्रदेश सरकार महत्वपूर्ण रहेकाले जनताको भावना अनुसार अगाडि बढी रहेको छ, भन्नुभयो । प्रदेश सरकार नेपाल कै लागि नयाँ थियो, हामीले पनि दुई बर्ष विताइसकेका छौँ, हाम्रो एक बर्ष सिक्न मै गयो, अर्काे बर्ष कानून निर्माण लगायतमा लगायौँ, अब हाम्रो काम गर्ने समय आएको छ । उहाँले कानून निर्माणका लागि गएका जनप्रतिनिधिलाई साना तिना कार्यक्रममा नरोक्न आग्रह गर्नुभयो । हामीलाई तपाईहरुले देशको नीति नियम बनाउन पठाउनुभएको हो । त्यसैले रिवन काट्न, उद्घाटन गर्न, बत्ती बाल्नका लागि बोलाएर समय बर्बाद नपारिदिनुहोस्, भन्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेश सभाका सदस्यद्धय लक्ष्मण लम्साल र गोमा भुर्तेल, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ठ श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा हास्यकलाकार जीतु नेपाल लगायतका कलाकारले प्रस्तुती दिनुभएको थियो ।

Facebook Comments Box