रोशी सहकर्मी, असोज २७
इन्द्रावती गाउँपालिकामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । दशैं मनाएर इन्द्रावती–१० स्थित बडहरेबाट काठमाडौं फर्किदै गर्दा हेलम्बु यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए ।

Facebook Comments