रोशी सहकर्मी–फागुन १५,
२०७६,कटुञ्जेवेशी/

विवादित एम्बुलेन्सको विषयमा उपाध्यक्षले गतल प्रचार गरेको आरोप लागेपछि रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर (डि.बि.) लामाले उपाध्यक्षकै प्रस्तावमा खरिद गरीएको बताएका छन् । जिल्लाको रोशी गाँउपालिकाले खरिद गरी समुदायमा हस्तान्तरण गरेको २ वटा एम्बुलेन्स बिवादमा परेपछि गाँउपालिका अध्यक्ष लामाले एम्बुलेन्स रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट किनेको बताएका छन् । अध्यक्ष लामाले विभिन्न सञ्चार माध्यमले गरेको गलत विश्लेषण प्रति पनि घोर आपत्ति जनाएका छन् । रेडियो रोशी सँग कुरा गर्दै गाँउपालिका अध्यक्ष डि.बि. लामाले भने “रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट मर्यादा क्रम अनुरुप उपाध्यक्षलाई सवारी साधन किन्न बजेट पाईने थियो । उनले सवारी साधनमा हुने खर्च एम्बुलेन्स खरिद गरी जनतालाई सेवा दिने प्रस्ताव कार्यपालिका वैठकमा राखेकी थिईन्” भने ।
यस अघि गाँउपालिकामा एउटा मात्रै सवारी साधन थियो । गाउँपालिकामा भएको एउटा सवारी साधन अपुग भएपछि पालिकाको तेस्रो गाउँसभाले थप दुईवटा सवारी साधन खरिद गर्ने निर्णय गर्यो तर चौथो गाउँसभामा दुईवटा सवारी साधन भए पुग्छ, एउटा मात्रै किनौँ र बच्ने पैसाले पालिकाको लागि एम्बुलेन्स किन्ने उपाध्यक्षले प्रस्ताव गरेपछि उनकै प्रस्ताव अनुसार आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा गाउँपालिकाको आन्तरिक श्रोतबाट एक्बुलेन्स खरिदका लागी अनुमानित बजेट २४ लाख विनियोजन भएको थियो, सोही अनुरुप गाउँपालिकाबाट एम्बुलेन्स खरिद गरीएको अध्यक्ष लामाले बताए र यस बिषयमा जुनसुकै पनि निकायमा स्पष्टिकरण दिन तयार रहेको बताए ।
त्यस्तै गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी बतौलाले आफुले पाएको सेवा सुबिधा त्यागेर समुदायमा सेवा गर्न खोज्दा पनि आलोचना भईरहेको भन्दै गतल प्रचार गर्नेहरु प्रति आपत्ति जनाईन् । “पालिकाबाट प्राप्त हुने सवारी साधन मर्यादाक्रम अनुरुप मैले पाउने भएता पनि त्यो सुविधा लिन चाहिनँ, मलाई गाडिको आवश्यकता भन्दा पनि रोशी गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता भएको देखेँ र गाडिको सट््टामा २ ओटा एम्बुलेन्स खरिद गर्न भनि प्रस्ताव राखेकी हुँ” उनले भनिन् ।
“एम्बुलेन्स खरिद गरेर समुदायलाई हस्तान्तरण गरिसकेपछि चर्चामा आउनकै लागी गलत प्रचार गरेको भन्ने आरोप लागेको छ, जुन सरासर गलत हो” भन्दै उनले “वास्तविकता नबुझि विभिन्न सञ्चार माध्यमबाट आएको गलत समाचार प्रति मेरो घोर आपत्ति छ ।”
यहि फागुन १३ गते एक कार्यक्रमका बिच प्रमुख अतिथि संविधान सभा सदस्य तिर्थ लामा र गाँउपालिका अध्यक्ष दलबहादुर (डि.बी) लामाले गाउँपालिकाको वडा नम्बर ५ र ११ लाई २ वटा एम्बुलेन्स हस्तान्तरण गरेका थिए । नेपाल सरकारबाट राजश्व छुट प्राप्त एम्बुलेन्स महिन्द्रा कम्पनीसँग सम्झौता गरी १० लाख ५० हजार २ सय ९६ रुपैयाँमा प्रति थान खरिद गरिएको थियो ।

Facebook Comments