यश कुमार परियार-चैत्र २,
२०७६, तेमाल(नारायणस्थान)/

विश्व भर फैलदै गएको कोरोना भाईरसको बारेमा आवश्यक सतर्कता अपनाउन तेमाल गाउँपालिकाले निर्देशन दिएको छ । साथै स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुले सुत्केरी बिदा, किरीया बिदा र अत्याअश्यक बाहेकका बिदा नपाउने भएका छन् । आज गाउँपालिका अध्यक्ष सलाम सिं तामाङको अध्यक्षतामा बसेको ३४ औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिएका छन् । कोरोनाको संक्रमण हुन नदिन स्वास्थ्यकर्मीहरुलाई बिदा नलिन र बिदा लिनै परेमा वैकल्पिक व्यवस्था गर्नुपर्ने बैठकले निर्णय गरेको छ । साथै स्वास्थ्य कर्मिहरुलाई आवश्यक तालिमको व्यवस्था पनि गरिने भएको छ ।
कार्यपालिका बैठकले कोरोना भाईरस विपद व्यवस्थापन समिति गठन गरी विभिन्न कार्यक्रमहरु गर्ने प्रवक्त तामाङले जानकारी दिए । जसमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष दुर्गामाया तामाङ सहसंयोजक, स्वास्थ्य संयोजक सदस्य सचिव र वडा अध्यक्षहरु सदस्य रहेका छन् ।
त्यस्तै वडा स्तरीय कोरोना विपद व्यवस्थापन समिति पनि गठन भएका छन् । जसमा वडा अध्यक्ष संयोजक, स्वास्थ्य चौकी ईन्चार्ज सदस्य सचीव, वडा सदस्यहरु सदस्य रहने गरी कार्यसमिति निर्माण गरीएको छ । समितिले हरेक टोलमा गएर कोरोना सम्बन्धि चेतना मुलक पर्चा पम्प्लेटहरु टाँस्ने, जनचेतना जगाउने कार्य गर्नेछ ।

Facebook Comments