रोशी सहकर्मी–चैत्र १,
२०७६,काभ्रे/

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम काभ्रेका छ नगरपालिकामा आज (शनिबार) बाट सुरु भएको छ । बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आज (शनिबार)बाट सुरु भएको हो ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लाको धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरुवात भएको जानकारी दिनुभयो । नसर्ने रोग र तिनका जोखिमहरु समयमा नै पहिचान गरी उचित परामर्श वा उपचार गर्न बाग्मती प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गर्दै आएको छ ।
उक्त कार्यक्रममा नेपाल सरकारले वितरण गरेको गरिव घर परिवार परिचय प्राप्त नागरिक तथा स्व घोषित विपन्न घोषणा गरेको ब्यक्ती, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरु, शहीद तथा वेपत्ताका परिवार र सशस्त्र द्वन्द्वका घाईते ब्यक्ति, महिला स्वास्थ्य स्वयम सेविका, लोकतान्त्रिक आन्दोलनका घाईते ब्यक्तिहरुलाई निशुल्क परीक्षण गराईनेछ । वडाअध्यक्षहरुको सिफारिसमा उक्त ब्यक्तिहरुले उपचार पाउनेछन् । उनीहरुले अस्पतालबाट १६ थरी रोगको परीक्षण सेवा प्राप्त गर्ने छन् । जिल्लाका चार हजार तीन सय नागरिकको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार आठ सय ५० जनाको निःशुल्क र दुई हजार चार सय ५० जनाको २५ प्रतिशत शुल्क छुटमा स्वास्थ्य परीक्षण हुनेछ । छ नगरका ७४ वडाबाट २५÷२५ जनाको स्वास्थ्य परिक्षण धुलिखेल अस्पतालबाट हुने छ ।

Facebook Comments