रोशी सहकर्मी–चैत्र ४,
२०७६,काभ्रे/

भारतको सीतामणि जिल्लाकी रुवीदेवी महतो आइतबार बिहान धुलिखेल नगरपालिका वडा न ४ को अठाइस किलोमा रहेको खोप केन्द्रमा तीन बच्चा सहित पुग्नुभयो । दुई छोरा र एक छोरी की आमा उहाँ आइतबारबाट सुरु भएको दादुरा रुबेला खोप लगाउन उक्त खोप केन्द्रमा पुग्नुभएको थियो ।
धुलिखेल नगरपालिका वडा न ४ को अठाइसकिलोमा कोठा लिएर बस्नुभएको उहाँको कोठा मै दादुरा रुबेलाको खोप लगाउन आउनु भनेपछि उहाँ खोप केन्द्रमा आउनुभएको हो । वडाले निमन्त्रण पठाएकाले आफू तीन बच्चा सहित आएको उहाँले बताउनुभयो । ज्याला मजदुरी गर्नका लागि उहाँका श्रीमान आएपछि उहाँ पनि दुई बर्ष अगाडि धुलिखेल आउनुभएको थियो । हामीलाई खोपको बारेमा थाहा थिएन, वडाले निमन्त्रण सहित खोप लगाउन आउनु भनेकाले आएका हौँ ।
नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुबेला रोगको उन्मुलन घोषणा गर्ने तयारीका साथ राष्ट्रिय रुप मै अभियान सञ्चालन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यस बर्षको अभियानमा कोही पनि नछुटोस् भन्नेमा हामी सचेत भएर लागेका छौँ, स्वास्थ्य प्रमुख झाले थप्नुभयो–जुनसुकै देशबाट आएको होस् कसैलाई पनि नछुटाउने अभियानका साथ प्रत्येक अभिभावको घरघरमा स्थानीय तहका प्रमुख, उपप्रमुखको हस्ताक्षर सहित निमन्त्रण कार्ड पठाएका छौँ । निमन्त्रण कार्डले बालबालिका ल्याउन उत्प्रेरित गरेको उहाँको बुझाई छ ।
एक बालबालिकामा मात्र दादुरा रुबेला देखियो भने संक्रमण फैलन सक्ने भन्दै काभ्रेका एक सय ३५ वटै वडाबाट दादुरा रुबेला खोप लगाएको प्रमाणित गर्नुपर्ने व्यवस्था मिलाएको छ । हाम्रा स्वास्थ्यकर्मीले सम्बन्धी वडाबाट खोप लगाउन कोही पनि बालबालिका छुटेका छैनन भनेर प्रमाणित गरेपछि मात्र रिपोर्ट बुझाउनुपर्ने भएकाले कोही पनि बालबालिका नछुट्ने झाले दाबी गर्नुभयो ।
काभ्रेका ३१ हजार सात सय ९२ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन सुरु भएको छ । स्वास्थ्य कार्यालयले काभ्रे जिल्लामा दुई चरणमा हुने खोप अभियान अन्तगर्त आइतार बाट पहिलो चरणका आठ पालिकाका खोप केन्द्रमा दादुरा रुबेला खोप अभियान सुरु भएको जनाएको छ ।
स्वास्थ्य प्रमुख झाले पहिलो चरणमा चैत २ देखी १० गते सम्म धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका, रोसी, भुम्लु, चौँरीदेउराली र तेमाल गाउँपालिकामा सुरु भएको बताउनुभयो । झाका अनुसार चैत १४ देखी २२ गते सम्म बनेपा, पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान दोस्रो चरणमा सञ्चालन गर्ने जनाकारी दिनुभयो ।

Facebook Comments