यश कुमार परियार-चैत्र ७,
२०७६,कटुञ्जे/

जिल्लाको रोशी गाउँपालिकाले विश्व भर फैलिरहेको कोरोना (कोभिड–१९) भाईरस रोकथामका लागी क्वारेन्टाइनको व्यवस्था गर्ने भएको छ । गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले रोशीको दुई ठाउँमा क्वारेन्टाईन स्थल तोकेको हो । जसमा मंगलटार स्वास्थ्य चौकी वा मंगल जनविजय माध्यमिक विध्यालय र लक्ष्मी नारायण माध्यमिक विध्यालय शिखर आम्बोटेलाई क्वारेन्टाईन स्थल तोकिएको प्रवक्ता पदम बहादुर लामाले जानकारी दिए ।
त्यस्तै पालिकाले ३ स्थानमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ । जसमा रोशी गाउँपालिकाको कार्यलय कटुञ्जेबेशी, फलामेसाँघु बस स्टप खहरेपाँगु र मंगलटारमा हेल्थ डेस्क स्थापना गरीनेछ । पालिकाले कोरोना संभावितलाई उद्धारको लागि उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाको संयोजकत्वमा वडा नं ७ का अध्यक्ष पोष्टराज गौतम र कटुञ्जे स्वास्थ्य चौकीका अ.हे.व. लक्ष्मी प्रसाद देवकोटा सदस्य रहने उद्धार टोली समेत गठन गरेको छ । त्यस्तै बैठकले सम्भावित संक्रमण रोकथामको लागि आवश्यक सेनिटाईजर, मास्क लगायतका अन्य सामग्रीहरु तुरुन्त खरिद गर्ने पनि निर्णय गरेको छ । गाउँपालिकामा भएका सरकारी सवारीसाधन तथा एम्बुलेन्स जुनसुकै बेला उपलब्ध हुने गरी तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । त्यस्तै सार्वजनीक सवारीसाधनहरुमा सिट संख्या भन्दा बढि यात्रु ओसारपसार गर्न नदिन सुरक्षा निकाय सँग समज्वय गरी नियमित चेक जाँच गर्ने निर्णय पनि गरेको प्रवक्ता लामाले जानकारी दिए ।
त्यस्तै गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुको अत्यावश्यक बाहेक अन्य विदा संक्रमण नियन्त्रण नभएसम्म स्वीकृत नगर्ने तथा आवश्यकता अनुसार अन्य स्थानमा काजमा पठाउन सकिने बताईएको छ । त्यस्तै बैठकले कुनै पनि प्रकारको गोष्ठी, सेमिनार, सम्मेलन लगायत २५ जना भन्दा बढि मानिस जम्मा हुने कार्यक्रमहरु नगर्न नगाराउने तथा अत्यावश्यक बाहेक आवागमन नगर्न रोशी बासीलाई अनुरोध गरेको छ । त्यस्तै दैनिक उपभोग्य सामग्रीहरुको कृतिम अभाव गरी कालोबजारी हुन नदिन आवश्यकता अनुसार बजार अनुगमनको व्यवस्था मिलाउने पनि प्रवक्ता लामाले जानकारी दिए ।

Facebook Comments Box