चैत्र १०,
२०७६,काभ्रे/

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन पाँचखाल नगरपालिकाले नगर बासिन्दालाई सकेसम्म घर बाहिर ननिस्कन, ऐतिहासिक एवं धार्मिक मन्दिर पलाञ्चोक भगवतीको मन्दिरमा नित्य पूजाबाहेकका भीडभाड रोक्न र अन्य पूजाआजा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार नगरप्रमुख महेश खरेलको संयोजकत्वमा बसेको बैठकले सो निर्णय गरेको हो । त्यसका साथै आजबाट नगर बासिन्दालाई बाहिर ननिस्की घरमा बस्न अनुरोध गर्दै माइकिङ गरिरहेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । नगर बासिन्दालाई सचेत गराउन पर्चा वितरण, भीडभाड नियन्त्रणका लागि अयिभान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

पलाञ्चोक भगवती मन्दिरलगायतका धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड रोक्न अन्य पूजाआजाका कार्यक्रम भने आजबाट बन्द भएको नगरप्रमुख खरेलले बताउनुभयो । नगर कार्यपालिका बैठक र अन्य बैठक, भिडियो कन्फ्रेन्स, सामाजिक सञ्जाल वा अन्य भर्चुअल विधिबाट सञ्चालन गर्ने, क्विक रेपिड रेस्पोन्स टोली गठन गर्ने, सो कार्यसँग सम्बन्धित खरिद गर्ने जिम्मेवारी नगरपालिकाको सार्वजनिक खरिद एकाइलाई जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै बैठकले नगरस्तरीय र प्रत्येक वडामा गठन भएको वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई क्रियाशील गर्ने निर्णय गर्नुका साथै वडा समिति र वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई विपद् व्यवस्थापन कोषबाट पछि खर्चसम्बन्धी आवश्यक कागजात पूरा गरी भुक्तानी दिनेगरी हाललाई कोरोना जोखिम रोकथाम र न्यूनीकरण कार्य गर्न प्रतिवडा रु ५० हजार मात्र खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनै पनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदामा नबस्ने निर्णय गर्नुका साथै पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच श्ययाको आइसोलेसन वार्ड तत्काल व्यवस्था गर्ने र समाज कल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन वार्ड बनाउने गरी तयारी गर्ने जनाएको छ ।

-रासस

Facebook Comments Box