नुवाकोट असोज २९,
आज दिउँसो बसले किच्दा नुवाकोटमा एक जना बालकको ज्यान गएको छ । बट्टार बजारमा गाडीले किच्दा तारकेश्वर गाउँपालिका–५, गोर्स्याङ घर भएका ११ वर्षीय बालक युनिक तामाङको ज्यान गएको हो । बा ४ ख ७५०४ नम्बर भएको केरुङ यातायात प्रालिको बसले किच्दा बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिए । बालकलाई किचेर भाग्न खोजेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेका छन् र बसका चालक विदुर नगरपालिका–७, तुप्चेका राउता तामाङलाई स्थानीयले कुटेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । मृतक बालकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द समेत गराएका छन् ।

Facebook Comments