रोशी सहकर्मी– कार्तिक ०२
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएको झण्डै डेढ वर्षपछि नेकपा काभ्रेको सपथ ग्रहण सम्पन्न भएको छ । दुवै पार्टीको एकताबाट बनेको नेकपा काभ्रेको जिल्ला कमिटीको शनिबार सपथ ग्रहण भएसँगै कमिटीले औपचारिकता पाए पनि पूर्णता पाउन भने बाँकी छ ।
नेकपा प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्याले सपथ ग्रणह गराएकी थिइन् । अध्यक्ष सहित ६७ सदस्यीय पूर्व माओवादी केन्द्रले पाएकोमा ४ जना पछि थप्ने र सचिवसहित पूर्वएमालेबाट ७८ जना पाएकोमा १५ जना पछि थप्ने गरि शनिबार सपथ खाएका थिए ।
कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका रुकु चौंलागाई र सचिव पूर्वएमालेका टोकबहादुर वाइवा छन् । जिल्ला कमिटीले औपचारिक रूपमा सपथ ग्रहण गरेसँगै ६ नगरपालिका र ७ गाउँपालिकाको पनि पार्टी एकता टुंगो लगाउने बाटो खुलेको छ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश ३ का सह–इन्चार्ज हितबहादुर तामाङ, हितमान शाक्य,प्रदेश कमिटि अध्यक्ष नारायण दाहाल, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोकुल बाँस्कोटा लगायतका प्रदेश कमिटिका नेताहरुको सहभागीता रहेको थियो ।
नेकपा काभ्रेको शपथ ग्रहणमा शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको थियो । विवादलाई थाँती राखेर शपथ ग्रहण गर्ने नेतृत्वको जवर्जस्तको विरुद्ध कडा प्रतिरोध गर्ने असन्तुष्ट पक्षले भने पछि प्रहरी परिचालन समेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपीले समेत बैठक स्थल निरीक्षण गरेका थिए । सम्भावित झडपलाई नियन्त्रण गर्न जिल्ला अध्यक्ष चौंलागाई र सचिव वाईबाले प्रहरीलाई गुहारेका थिए ।

Facebook Comments