२०७६,चैत्र २४,
काभ्रे/

‘काठमाडौको धापासी देखि सप्तरी पुग्न पाँच दिन लाग्छ । कहाँ बस्ने र के खाने चिन्ता छैन तर कहिले पुगिन्छ भन्ने चिन्ताले सताएको छ’–मजदुर वेचु शाहले भन्नुभयो–‘रातको १ बजे हिडेर बनेपा आईपुग्दा विहानको ९ बजिसकेको छ । थाहा छैन सप्तरी पुग्ने कहिले पुगिने हो रु’ काठमाडौ–भक्तपुर–काभ्रेपलाञ्चोक–सिन्धुली–महोत्तरी–धनुषा–सर्लाही–सिराहा–सप्तरी पुग्ने रुट तय भएको छ ।

बेचुको समुहमा ३५ जना छन् । सबै सप्तरी जिल्लाका हुन् । विभिन्न मितिमा राजधानीका शहरमा निर्माण क्षेत्रमा कार्यरत मजदुरहरु निरन्तरको लकडाउनका कारण संकटमा परेका छन् । दैनीक राजधानी र आसपासका जिल्लाहरुबाट आफ्नो जन्मभूमिमा फर्कनेहरुको लर्को छ । अरनिको राजमार्ग र विपी मार्ग हुँदै दैनीक ५ सय भन्दा धेरै ब्यक्तिहरु विभिन्न जिल्लाको यात्रा गरिरहेका छन् । धेरैले रात सडकमै विताउने गरेका छन् । झोलामा बोकेका सातु सामल आधा बाटोमै सकिन्छ । पैसा हुनेहरुले पनि किनेर खाने स्थान छैन । बास बस्ने पिर पनि छैन । महामारी फैलने आशंकामा परिवारसम्म पुग्ने छिटो माध्यम सवारी पास समेत उपलब्ध नुहँदा पाँचरछ दिनको बाटो हिडेरै गन्तब्य पुग्ने गरी दैनीक मजदुरहरु फर्किरहेका छन् । सरकारले एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाए पनि आठ वटा जिल्ला छिचोलेर जन्मभूमि फर्कनेहरुको लर्को घटेको छैन ।

सोमबार विहान अरनिको राजमार्गको बनेपा खण्डमा भेटिएको सप्तरी हिडेको मजदुरहरुको समुहलाई बनेपामा रहेको पानस पार्टी प्यालेसले निशुल्क खाना उपलब्ध गराएको छ । प्रोपाईटर सुर्य श्रेष्ठ सहितको समुहले सोमबार मात्रै ३ सय १० पैदलयात्री मजदुरहरुलाई सडकमै तयारी खाना उपलब्ध गराएको हो । पानस पार्टी प्यालेसले एक हजार एक सय पैदलयात्री र मजदुरलाई तयारी खाना उपलब्ध गराएको छ ।

सडकमा गरिएको सहयोग र सद्भाव प्रति बेचु शाहको समुहले धन्यवाद दिएको छ । लकडाउन अवधीभर पानस पार्टी प्यालेसले यो सेवा उपलब्ध गराउने गरी तयार गरिएको प्रोपाईटर सुर्य श्रेष्ठले बताउनु भयो । ‘यो कुनै प्रचारका लागि होईन, पैदल हिडेका लामो दुरीका यात्रुहरुलाई बाटोमा केहि खान नपाउने अवस्था भएपछि एक छाक खाना उपलब्ध गराउने उदेश्य मात्रै हो’–श्रेष्ठले भन्नुभयो–‘ब्यवसाय पछि गरौला, अहिले सेवा मात्रै गर्ने हो ।’ पहिलो र दोश्रो दिनमा ८ सय ब्यक्तिले बनेपाको नालादोवाटो चोकमा खाना उपलब्ध गराईएको थियो ।

धापासीमा बस्दै आएको उक्त समुहले लामो दुरीको सवारी बन्द भएको सूचना पाए पनि लकडाउनको सूचना ढिलो थाहा पायो । ‘लकडाउन भनेकै बुझेका थिएनौ’–मजदुर पवनकुमार यादवले बताउनु भयो – ‘काम गरिरहेको स्थानमा केहि दिन काम गर्ने भन्ने योजनामा थियौं, लकडाउनमा त केहि गर्नै नमिल्ने रहेछ । काम बन्द भए पछि अलमल्लमा प¥यौं । सात दिन पछि खुल्ला नि भनेर बस्दा बस्दै लकडाउनको अवधी थपियो । खल्तिमा भएको पैसा पनि सकियो ।’

काठमाडौ महानगरपालिकाले विभिन्न वडाहरुमा राहत वितरण गरे पनि उक्त समुहले प्राप्त गर्न सकेन । ‘तीन तोला सुन हुनेहरुले राहत बुझेर आए, हाम्रो नागरिकता नभएकै कारण फाराम भराए तर राहत दिएनन्’–मजदुर बेचु शाहले भन्नुभयो–‘हुनेहरुले नै लुट्ने समय रहेछ । हामी भोकभोकै पर्ने अवस्था भए पछि काठमाडौ छाडेर सप्तरी हिडेका हौं ।’ राहत नपाए पछि प्रशासनमा गएर सवारी पास माग गरिए पनि उपलब्ध हुन नसकेको उहाँको गुनासो थियो । ‘राहत त पाएनौ पाएनौं सवारी पास दिएको भए आफ्नै जन्मभूमिमा पुगेर परिवारसँग बस्ने अवसर पाउँथ्यौं’–उहाँले भन्नुभयो–‘त्यो अवस्था नभएपछि हिडेरै भए पनि हामी सप्तरी जान लागेका हौं । कहिल्यै नहिडेकाले यो दुरीमा झण्डै पाँच दिन लाग्ने छ ।’ झोलामा थोरै चिउरा र गोजीमा २र४ सय पैसा भएकाले कुनै चिन्ता नभएको उहाँले बताउनु भयो ।

‘सरकारले हाम्रै सुरक्षाका लागि सवारी पास नदिएको हुन सक्छ हामीले बुझेका छौं’–पवनकुमार यादवले भन्नुभयो–‘एक स्थानीय तहबाट अर्कोमा जान रोक लगाएको पनि जानकारी छ । कोरोनाका बारेमा पनि सचेत छौं । अनुशासन कायम गर्दै हामी हिडेरै भए पनि आफ्नो जन्मभूमि फर्कन लागेका हौं ।’ रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सिमाना भित्र पैदल हिड्ने यात्रुहरुलाई सवारीको ब्यवस्थापन गरिरहेको छ । सहयोग गर्ने जनप्रतिनिधिहरुलाई उनिहरुले आत्मैदेखी दिएको आर्शिवादले सुखानुभुती भएको उहाँले बताउनु भयो ।

-नेपाल समाचारपत्रबाट

Facebook Comments Box